म्यासेन्जर एप इमोमार्फत लाखौँ ठगी

तु खबर संवाददाता
२०७५ बैशाख १०,सोमबार १५:३९

नुवाकोट, १० बैशाख । म्यासेन्जर एप ईमो मार्फत एक युवक ठगिएका छन् । नुवाकोटको तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई हिन्दी भाषा बोल्ने एक युवकले इमोमार्फत विभिन्न बहाना बनाएर दुई लाख ९० हजार ठगेका हुन् ।

ती युवकले नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिठ्ठा’ परेको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेको र त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत शुरुमा रु ४० हजार माग गरेको तामाङले बताएका छन् । ठगले २५ लाखको चिट्ठासहित थप पाँच लाख बोनस रकम समेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उनका भाइ महेन्द्रबहादुर तामाङले २ लाख ९० हजार पठाएपछि मात्र आफू ठगिएको पत्ता लागेको हो ।

उनीहरुले यही वैशाख ५ गते दुई पटक ४० हजार, ७५ हजार र ६ गते एक लाख ७५ हजार इमोमार्फत फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेको बताएका छन् । त्यो रकम काठमाडौँ ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाइएको लोकबहादुरले बताएका छन् ।

ठगिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौँमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिइएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*