सांसदलाई पढाउँँदै काँग्रेस
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
![](https://www.tukhabar.com/wp-content/uploads/2018/05/Nepali-Congress-Office-Tukhabar.jpg)
काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत आफ्ना सांसदलाई पढाउने काम गरेको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको बारेमा आजको ‘राजधानी दैनिक’को पहिलो पृष्ठमा समाचार छापिएको छ ।
अर्थविद् डा. विश्व पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. नारायण खड्कासहित कांग्रेस नेता मीनेन्द्र रिजाल र उद्योगपतिसमेत रहेका सांसद विनोध चौधरीले सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका हुन् ।
योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई स्पष्ट पारेको बताए । सरकारले नीति तथा कार्यक्रम ल्याइए पनि वर्षैपिच्छे ल्याउनुपर्ने कार्यक्रम पाँच वर्षका लागि टार्गेट गरेर ल्याएको र यो जनतालाई झुक्याउने गरेर आएको उनले बताए । बैठकले सांसदहरूलाई संसद् बैठकमा कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएकोे छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा यस्तो निर्देशन दिइएको हो ।
प्रशिक्षणमा नीति तथा कार्यक्रममा समेटिनुपर्ने सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमको कार्यन्वयनमा देखिने चुनौती र अहिलेको अवस्थाको विषयमा पनि जानकारी गराइएको बताए । उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने नीति तथा कार्यक्रम र यथार्थताको विषयमा सांसदहरूलाई जानकारी गराएका थिए । पूर्वअर्थमन्त्री महत, अर्थविद् पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रिजालले भने सांसदहरूले संसद् बैठकमा उठाउनुपर्ने कुराहरूका विषयमा सांसदहरूलाई जानकारी गराएका थिए । योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले भने विशेष ‘क्लस’ नै लिएको एक नेताले जानकारी दिए ।