गुगल क्रोमलाई पछार्ने दाउमा फायरफक्स क्वान्टम
एजेन्सी, १३ असार । कुनै समयमा गुगल क्रोमभन्दा पनि निकै नै रुचाइएको मोजिला फायरफक्सले फेरि गुगल क्रोमलाई चुनौति दिने भएको छ । मोजिलाको नयाँ भर्सनको फायरफक्स क्वान्टमले सुरुवाती चरणमा नै क्रोमलाई टक्कर दिन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस सम्बन्धमा बिबिसीले समेत आलेख लेखेको छ ।
सन् २००२ मा पहिलोपटक निःशुल्क तथा ओपन सोर्स ब्राउजरका रुपमा फायरफक्स लञ्च भएको थियो । मोजिला फाउन्डेसनले फायरफक्स तयार गरेको हो । त्यस्तै सन् २००८ मा गुगलको क्रोम ब्राउजर लञ्च भएसँगै यसले तत्कालीन अवस्थामा प्रयोगमा रहेका अन्य सबै ब्राउजरको ठाउँ लिनथालेको थियो । फायरफक्सको स्पीडले पछि पारेको अवस्थामै केही समयपछि फायरफक्सलाई क्रोमको स्पीडले उछिनेसँगै फायरफक्सको प्रयोग घटेको थियो । पछिल्लो तथ्यांक अनुसार अहिले इन्टरनेट ट्राफिकको ६७ प्रतिशत गुगल क्रोमबाट आउँदछ भने बाँकी अन्य ब्राउजरबाट आउने गरेका छन् । इन्टरनेट ट्राफिकमा फायरफक्सको हिस्सा जम्मा ११ प्रतिशत रहेको छ भने इन्टरनेट एक्सप्लोलर ७ र सफारीको हिस्सा ५ प्रतिशत रहेको छ ।
तर मोजिल्लाले गत वर्षको अन्त्यतरि फायरफक्स क्वान्टम लञ्च गरेसँगै यसको प्रयोगकर्ता बढेको पाइएको छ । फायरफक्सका प्रयोगकर्ताहरुको संख्या क्रमशः बरिहेको छ । इन्टरनेट प्रयोगकर्ताको रोजाइमा फायरफक्स क्वान्टम पर्नुका मुख्य तिनवटा कारण यसको प्राइभेसी, स्पीड र डाटाको कम खपत रहेका छन् ।