सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो

तु खबर संवाददाता
२०७५ श्रावण १३,आईतवार १३:२८

काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार कक्ष’ ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो । सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्ने तयारी थालिएको छ । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् ।

ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन थालेको छ । ट्वीटर खातामा प्रयोग हुने लोगो सरकारको वा संस्थाको हुनुपर्ने, ट्वीटर खाताको मुख्य पृष्ठमा राखिने फोटोले सम्बन्धित निकायको स्पष्ट परिचय दिने र उद्देश्य स्पष्ट पार्नेखालको हुनुपर्ने, ट्वीटर खाताको पेज आकर्षण र सेवाग्राहीमैत्री हुनुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । ट्वीटर दैनिक सञ्चालन गर्नुपर्ने, ट्वीटर सञ्चालन गर्ने व्यक्ति तोकिनुपर्नेजस्ता कुरा कार्यविधिमा राखिएको छ ।

ट्वीटरमा आएका सूचनालाई लाइक, रिप्लाई, ट्वीट, रिट्वीट, शेयर कस्तो गर्ने भन्ने सम्बन्धमा कार्यविधिमा उल्लेख गरिएको छ । अहिले १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गर्ने गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*