आज २४ औँ तामाङ प्रसारण दिवस, मकवानपुरसहित विभिन्न स्थानमा कार्यक्रम हुँदै
हेटौँडा, ०१ भदौ । आज भदौ १ गते अर्थात तामाङ प्रसारण दिवस , विद्युतीय सञ्चार माध्यममा पहिलोपटक तामाङ भाषाले प्रवेश गरेको दिनको सम्झनामा तामाङ सञ्चारकर्मीहरुले यस दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् । आजभन्दा २४ वर्षअघि अर्थात २०५१ साल भदौ १ गतेका दिन पहिलोपटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
तामाङ प्रसारण दिवसकै अवसरमा मकवानपुर सहित देशभरी नै तामाङ पत्रकार संघ तथा तामाङ समुदायसँग जोडिएका संघसंस्थाहरुले विविध कार्यक्रमहरु गरी यस दिवसलाई मनाउने तयारी गरेका छन् । यसै सन्दर्भमा मकवानपुरमा बिगतका दिनमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । उनलाई ‘तामाङ पत्रकारिता सम्मान–२०७५’ बाट सम्मान गर्न लागिएको संघका मकवानपुर जिल्ला अध्यक्ष चन्द्र घलानले जानकारी दिए । गोलेलाई आज बिहान ११ बजे नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा हुने कार्यक्रममा सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
मकवानपुरमा तामाङ सञ्चारका माध्यमबाट तामाङ भाषा, धर्म, रितिरिवाज तथा समग्र तामाङ समुदायलाई टेवा पुराउने सञ्चारकर्मीहरुमध्ये गोलेलाई पहिलो पटक संघको जिल्ला शाखाले सम्मान गर्न लागेको हो । यस अघि तामाङ पत्रकार संघ मकवानपुर शाखा (तत्कालिन तामाङ सञ्चार समूह) ले तामाङ समुदायमा योगदान पुराएकाहरुलाई सम्मान गर्दै आइरहेको भए पनि यस वर्षदेखि पूर्व संचारकर्मी तथा क्रियाशिल संचारकर्मीलाई नै सम्मान गर्ने निर्णय भएको हो ।
तामाङ पत्रकार संघ सर्लाही शाखाले दिवसको अवसरमा ‘तामाङ पत्रकारको अबस्था र चुनौती’ विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तय भएको संघका सर्लाही शाखा अध्यक्ष राजु लो तामाङले जानकारी दिए । हरिवन नगरपालिका वडा नम्बर ५ स्थित नेपाल आदीवासी जनजाती महासंघको सभा हल भवन घुर्कौलीमा कार्यक्रम हुनेछ ।
त्यस्तै तामाङ प्रसारण दिवसकै अवसरमा प्रदेश नम्बर १ को धनकुटामा प्रादेशिक भेला, प्रदेश नम्बर २ को सर्लाहीमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम, प्रदेश नम्बर ३ को मकवानपुरमा तामाङ पत्रकारिता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम, चितवनमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम र काठमाडौंमा तामाङ पत्रकार संघ केन्द्रीय समितिको आयोजनामा तामाङ प्रसारण दिवस तथा तामाङ अवार्ड वितरण समारोह हुने भएको संघका केन्द्रीय अध्यक्ष विष्णु तामाङले जानकारी दिएका छन् । साथै देशका अन्य भागहरुमा समेत विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन् ।