शौचालय बिनाको जनता आवास
वीरगञ्ज, १५ भदौ । सरकारले घर घरमा शौचालय निर्माण गर्न प्रोत्साहन गर्दै आएपनि बारा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत अति विपन्न दलितहरुका लागि बनाइएका घरमा शौचालय छैन ।
संघीय सरकारले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेज गरी जनता आवास कार्यक्रम प्रदेश नं २ को सरकारको जिम्मामा छाडिदिएको छ । बारा जिल्लाका दलित तथा अति पिछडिएका समुदायका लागि बन्दै गरेका आवासमा शौचालय निर्माण गर्ने योजना नहुँदा उनीहरुलाई शौच गर्न समस्या भएको छ ।
बारा जिल्लामा झण्डै एक हजारको हाराहारीमा जनता आवास कार्यक्रम अन्तर्गत दलित समुदायका लागि घर बनिरहेका छन् । रु २ लाख १४ हजारको लगानीमा प्रति दलित परिवारलाई दुईवटा बस्ने कोठा र एउटा भान्सा कोठासहितको आवास बनाइदिने सरकारको योजना रहे पनि शौचालय घर नभएपछि उनीहरु खुल्ला चौर, खोला तथा नदी किनारमा शौच गर्न बाध्य भएका छन् ।