बेरोजगार युवाहरुको पक्षमा बोल्छु– खरेल

तु खबर संवाददाता
२०७५ आश्विन १५,सोमबार १६:४२

मकवानपुर १५ असोज । राजन खरेल नेपाली काँग्रेस पार्टी कार्यालयका मकवानपुर जिल्ला सदस्य तरुणदल मकवानपुरका सल्लाहाकार पनि हुन् । उनको लुब्रीकेन्ट सम्बन्धि आफ्नो व्यवसाय छ र समाजसेवामा जतिखेर पनि तत्पर रहनु पर्छ भन्ने मान्यता राख्छन् । राप्रपा नेपालका युवा मोर्चाका मकवानपुर जिल्ला अध्यक्ष भई सक्रिय रुपमा काम गर्दै आएका खरेलले करिब ६ वर्षको सक्रियता पछि राप्रपा नेपाल परित्याग गरी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । युवाहरु रोजगारबाट बन्चित नहोउन सबैले रोजगार पाउनु पर्छ भन्ने धारणा म सँधै राख्छु खरेलको भनाई छ ।

राप्रपा नेपालको सक्रिय कार्यकर्ता र युवा मोर्चाको मकवानपुर जिल्ला अध्यक्ष पनि हुनुहुन्थ्यो पार्टी छोड्नुको कारण के हो ?

  • त्यहाँ जति सक्रिय भएर लागे पनि मेरो योग्दानको त्यति राम्रो मुल्याङकन हुन सकेन । दुई अढाई सय युवाहरुले राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री कमल थापाकै धारमा राखेर युवा मोर्चाको मकवानपुर अध्यक्ष बनाएका थिए । जब ३ नं. प्रदेशको चुनावमा म पनि अध्यक्ष पदमा लड्छु भन्दा वास्ता गरेन पार्टीले युवाहरु मलाई अध्यक्ष बनाउन चाहन्थे तर पार्टीका शिर्षस्थ नेताहरुले कमल थापाको गृह जिल्लामा चुनाव हुनु हुन्न तिम्रो अध्यक्ष हुने बेला भएको छैन भनेर मलाई मौका समेत दिईएन । आफु भन्दा बरिष्ठ उमेरका व्यक्तिलाई ल्याएर अध्यक्ष बनाईयो । जो चाँही सल्लाहकार बस्ने लायकका थिए । आफुलाई सावित गर्ने ठाउँ पनि नपाए पछि मैले गरेको योगदानको कदर नभएको महशुस गरेर पार्टी छोड्न बाध्य भएँ ।

अनि अर्को चोटी पनि मौका पाइन्थ्यो होला नि त ? किन पार्टी नै छोड्नु परेको त, तपाईको स्वार्थ देखिएन र ?

  • मेरो स्वार्थ केही पनि थिएन पत्रकार मित्र । मैले युवा मोर्चामा हुँदा क्यान्सर पीडित्, आर्थिक कमजोर भएका व्यक्तिहरुको छोराछोरीहरुलाई हेटौडाको विभिन्न नीजि विद्यालयहरुमा भनसुन गरेर कतै निः शुल्क, कतै आदी भन्दा बढि शुल्क मिनाह गरी पढाईमा सहयोग गरेको छु । लोडसेडिङको बेलामा हामीले आन्दोलन गरेर ४ घण्टा कम गराएका थियौं । विद्युत प्राधिकरणमा बत्तीको महशुल तिर्न जाने मानिसहरुसंग खुद्रा पैसा छैन भनेर बढि पैसा लिने तर त्यो बढि लिएको पैसा अर्कोचोटी बिलमा काटिन्दैनथ्यो । त्यसकुरामा पनि हामीले विरोध जनायौं र बढि लिएको रकम अर्को बिलमा काट्ने व्यवस्था पनि मिलायौं । यसै गरी रातोमाटेका एक जना क्यान्सर पीडितलाई लुगा सिलाउने मेसिन खरिद गरी काम गरेर खाने वातावरणको श्रृजना पनि गरी दियौं । उनको दुईवटा बच्चालाई निःशुल्क पढ्ने वातावरण एउटा नीजि विद्यालयमा मिलायौं, उनको श्रीमतीलाई पनि रोजगारको व्यवस्था ग¥यौं । बेरोजगार युवाहरुलाई विभिन्न संघसंस्था, उद्योग, कलकारखानामा रोजगार दिलाएका छौं । आफ्नो कार्यकर्ता तथा युवा साथीहरुको लागि रातबिरात नभनीकन सहयोगको लागि दौडेको छु म । आफ्नो पैसा खर्च गरेर कमल थापा यहाँ आए, त्यहाँ आए भनेर युवाहरु भेला गराई त्यस कार्यक्रममा शरिक भएको छु । हेटौडा अस्पतालको स्तरोन्नतीको लागि पहल गरेका छौं । सडक, बत्ती, यातायात, विद्यालय स्तरोन्नतीको लागि धेरै चोटी आवाज उठाएको छु । त्यसो गर्दा के मेरो मात्र स्वार्थ थियो र त्यो ? त्यसको फाइदा सबैलाई भयो म एउटाको लागि मात्र थिएन त्यो लडाई ।

अरु केही नभए पनि राप्रपा नेपालले तपाईलाई राजन खरेल भनेर सबैतिर परिचित् त गरायो नि ?

  • पक्कै पनि हो मित्र, मलाई राप्रपा नेपाल र त्यसको युवा मोर्चाले नै चिनाएको हो । तर, चिनिएर चिनाएर मात्र पनि त पुग्दैन नि । एउटा तितो सत्य के हो भने युवा मोर्चाको सदस्य भएकै कारण नेपाली काँग्रेस मकवानपुरले पार्टीको जिल्ला सदस्य र तरुणदलकोे जिल्ला सल्लाहकारमा चयन गरेका हो । पार्टीमा जिल्ला सभापती तथा संसदीय दलका ३ नं. प्रदेश नेता इन्द्रबहादुर बाँनियाले तपाई जतिको मान्छे जहाँ पायो त्यही बस्नु हँुदैन भनेर मलाई यो जिम्मेवारी दिनुभएको हो तर, राप्रपा नेपालले त त्यति पनि सोचेन ।

नेपाली काँग्रेसमा प्रवेश गरे पछि पहिला जस्तो सक्रिय देखिनु हुन्न नि ?

  • निस्क्रिय नै भएर बसेको त छैन आफ्नो टोल, छरछिमेकमा पनि सक्रिय रुपले काम गरिरहेको छु र नेपाली काँग्रेस पार्टीले जुन जिम्मेवारी मलाई सुम्पिएको छ तदारुकताका साथ लागेको छु । मेरो आफ्नै व्यवसाय पनि भएको कारणले त्यहाँ पनि ध्यान दिनुपर्छ । र बाँकी समय परिवारलाई पनि दिने गरेको छु । यसको मतलब म निस्क्रिय भएर बसेको छैन ।

राप्रपा नेपाल पार्टी फस्टाउन नसक्नुको कारण के होला ?

  • टिकेप्रथा, लम्पसारवाद, नातावाद–कृपावाद, दास बन्ने सँस्कारको विकासले ठूलै ठाउँ पाएको छ त्यहाँ । आफ्ना युवाहरु रोजगार होउन, केही गरुन भनेर पनि त्यती सोच्ने गरिँदैन । त्यस कारण पनि पार्टी फस्टाउन गाह्रो भएको हो ।

राप्रपा नेपालले तपाइको मूल्याङकन गर्छु पुनः पार्टीमा फर्किनु प¥यो भनेर भन्न आए होलान् नि ?

  • पार्टीका शिर्षस्थ नेताहरु आउनु भएको थियो । तपाईको माग पुरा गरिदिन्छु पनि भन्नु भयो तर मलाई यहीं ठिक छ भनेर भनिदिएँ ।

काँग्रेस नै किन अरु पार्टी पनि नि त थियो नि प्रवेश गर्नलाई ?

  • मेरो मान्यतामा अब देशमा केही गर्छ भने त्यो नेपाली काँग्रेस पार्टीले नै हो । अहिलेको सरकारले के गरेको छ ? कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । दोषिलाई कारबाही गर्न सकेको छैन, सरकारले । दरबार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्डको दोषि को हो ? त्यो पत्ता लगाएर कारबाही गर्न सकेको छैन । जताततै बाटो भत्केको छ निर्माण कार्य सुरु समेत भएको छैन । अब त्यस्तो पार्टीमा प्रवेश गरेर भविष्य बिगार्नु छैन ।

अबको भावी योजना के छ त तपाईको ?

  • पार्टीले दिएको जिम्मेवारीलाई तन, मन, धन लगाएर पुरा गर्छु । विशेष गरी एक घर एक तरुन बनाएर आगामी चुनाबको लागि बलियो भई तयारीका साथ पार्टीको काममा सक्रिय रुपले काम गर्ने मेरो लक्ष्य छ । त्यसबाट बचेको समय आफ्नो व्यवसाय प्रवर्धनको लागि लाग्नेछु ।
    पार्टी वा सरकारले के भूमिका निर्वाह गरे हुन्थ्यो जस्तो लाग्छ, तपाईलाई युवाहरुको हकमा ?
    युवाहरुलाई रोजगारिताको वातावरण श्रृजना गर्नु प¥यो, नेपालबाट युवाहरु विदेशीने क्रममा छन् नेपालमै केही गरेर खाने वातावरण बनाईदिनु प¥यो यस विषयमा यतिनै हो मैले भन्नुपर्ने ।

सबै युवाहरु रोजगार भए देश विकास हुन्छ भन्ने मान्यता होईन त तपार्इंको ?

  • हो । पार्टी होस् या सरकार युवा शक्ति नभई काम चल्दैन । सबैका खम्बा पनि युवाहरु नै हुन् । युवा शारिरीक, मानसिक र उमेरले पनि जांगरिलो र बलियो हुन्छन् । युवाहरु नै कमजोर भयो भने देश विकास कसरी हुन्छ त ? जसरी हुन्छ युवाहरुलाई बेरोजगार हुनबाट जोगाउनु सबैको कर्तव्य हो ।

हवस्त समय दिनु भयो धन्यवाद ।

  • तपाईको अनलाई पत्रिका तु–खबर डटकम मार्फत मेरा कुराहरु राख्ने मौका दिनु भयो त्यसको लागि तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद