हटियामा पानीको मुहान जोगाउन अन्तरक्रिया कार्यक्रम
मकवानपुर १२ फागुन । मकवानपुरको हटियास्थित गंगटेखोला शूक्ष्म जलाधार संरक्षण तथा व्यवस्थापन समितिले सो क्षेत्रमा पानीको मुहान जोगाउन जलाशय निर्माण गर्नेबारे शनिबार स्थानीय र जनप्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
हेटौंडादेखि फूर्केचौरसम्म मानवबस्तीका लागि पानीको मुहान संरक्षण गर्न जरुरी रहेको र जलाशय निर्माण मुहान जोगाउने उपयुक्त विकल्प रहेकोले सो विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो ।
सो क्षेत्रमा जलाशय निर्माण गर्ने, डुंगा चलाउने योजना स्थानीयको छ । जसले पानीको मुहान जोगाउनुका साथै आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुर्याउने अङारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव चुडामणी रुपाखेतीले जानकारी दिए ।
गंगटेखोला शूक्ष्म जलाधार संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राई र ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो ।