हुप्रचौरमा प्याराफिट निमार्ण गर्न नहुने भन्दै स्थानिय पुगे मुख्यमन्त्री कार्यालय
मकवानपुर १२ चैत्र । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा निर्माण गर्न लागेको व्यवसायिक सटर सहितको प्याराफिटको विषयमा स्थानियले आपत्ती जनाएका छन् । आज हुप्रचौर सरोकार समितिको नेतृत्वमा विभिन्न राजनितिक दल, युवा, व्यवसायी लगाएतको टोलीले मुख्यमन्त्रीको कार्यालयसहित ४ वटा सरोकारवाला निकायमा ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।
संयुक्त टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण पश्चात प्याराफिट निर्माण गरेपछिको अवस्थाको बारेमा समेत जानकारी गराएको छ ।
साथै टोलीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय, निर्माण व्यवसायी संघ मकवानपुरको कार्यालय र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयमा समेत ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
ध्यानाकर्षणपत्रमा हुप्रचौरको क्षेत्रफल ज्यादै कम भएकोले व्यवसायिक सटर सहितको प्याराफिट निर्माण गर्दा चौरको क्षेत्रफल घट्न गई सानो हुने र साँधुरो हुने उल्लेख गरिएको छ ।
हुप्रचौरलाई हराभरा र खुल्ला चौरको रुपमा विकास गर्नुपर्ने पत्रमा उल्लेख छ । यदि स्थानियको जनभावना विपरित चौरभित्र कुनैपनि भौतिक निर्माणको काम भएमा स्थानिय एकजुट भई त्यस्ता कार्यको घोर भत्र्सना गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् ध्यानाकर्षणपत्र