प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउन काँग्रेस नेता बानियाँको आग्रह
मकवानपुर १० साउन । नेपाली काँग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बाढी पहिरो तथा ढुवानमा परेर मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले कम्तीमा ३ लाख रुपैया राहत स्वरुप उपलब्ध गराउनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै संसदीय दलका नेता बानियाँले प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले तत्काल १ लाख दिने निर्णय गरेकोमा उक्त रकम अत्यैन्तै न्यून भएको भन्दै कम्तिमा प्रति परिवार ३ लाख रुपैँया उपलब्ध गराउन आग्रह गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा प्राकृतिक प्रकोपका कारण पूर्ण र आँशिक रुपमा क्षति पुगेका परिवारलाई प्रदेश सरकारले सुरक्षित आश्रयस्थल, खाना, लत्ताकपडा तथा राहतस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
विज्ञप्तीमा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुको तर्फबाट प्राकृतिक प्रकोपको कारण समस्यामा परेकाहरुलाई ५ दिनको सुविधा बापतको रकम सहयोग गर्ने निर्णय भएको उल्लेख छ ।
बानियाँले प्रकोपका कारण समस्यामा परेकाहरुको उद्दार र सहयोगमा जुट्न सबैलाई अपिल समेत गरेका छन् ।