पत्रपत्रिका अपडेट–भत्केको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित

तु खबर संवाददाता
२०७६ श्रावण १६,बिहीबार ०८:०१

रौतहट । बाढीले बागमती र लालबकैया नदीको तटबन्ध भत्काएको दुई साताभन्दा बढी भइसकेको छ । भत्केको तटबन्धको मर्मत कतैबाट नहुँदा स्थानीय त्रसित देखिएका छन् । पुनः बाढी आउँदा गाउँ नै बगाउने त्रासले स्थानीय चिन्तित देखिएका हुन्।

गत असार २७ र २८ गतेको बाढीले लालबकैया नदीको पूर्वी–पश्चिमी तटबन्ध ९ स्थानमा भत्काएको थियो । स्थानीयले पटक–पटक तटबन्ध मर्मत गरी बाढीको त्रासबाट जोगाउन सम्बन्धित निकायसँग आग्रह गरे पनि बजेटको अभाव देखाई चासो नदिँदा स्थानीयमा पुनः बाढीको त्रास देखिएको हो ।

लालबकैया नदीमा आएको ठूलो बाढीले गौर नगरपालिकाको महादेवपटीमा ३२ मिटर, देवाही गोनाही नगरपालिकाको दोहरटोलमा २ सय २५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १ सय ५५ मिटर, बुनियादमा ३७ मिटर, लक्ष्मीपुरमा २७ मिटर तेजापाकडमा ४ सय ४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २ सय मिटर गरी ९ स्थानमा तटबन्ध पूर्ण रूपमा बगाएको थियो ।

नदीको दुईतर्फी बाँध भत्किँदा सो भेगका बासिन्दा बाढी र डुबानको चपेटामा परी जनधनको ठूलो क्षति बेहोर्न बाध्य भए पनि भत्किएका बाँध मर्मत गर्नेतर्फ राज्यबाट ध्यान नदिएको गुनासो परोहाका शिक्षक शेख जमिल अख्तरको रहेको छ ।

यसैगरी इनर्वाका बासिन्दा दिलीप यादवले संघीय सरकारले रौतहटका बाढीपीडितका लागि खासै ध्यान नदिएको आरोप लगाए। उनले भने, ‘लालबकैया र बागमती नदी दुवै संघीय सरकारको मातहतमा रहेको तर मर्मत गर्न बजेट नपुगेको बहाना संघीय सरकारले बनाएको छ।’ तेजापाकड, इनर्वा, लक्ष्मीपुर, समनपुरसहितका केही स्थानमा सम्बन्धित नगरपालिकाको लगानीमा मर्मत कार्य भइरहेको छ ।

उक्त कार्यका लागि बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयबाट प्लास्टिकको डोरी र बोरा उपलब्ध गराउँदा भत्किएका उक्त स्थानमा स्पर बनाई मर्मत भइरहेको बौधिमाई नगरपालिकाका मेयर रविरञ्जन यादवले जानकारी दिए। नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*