हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न
मकवानपुर, २३ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाले ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ को आयोजना गरी मकवानपुरका ३० जना युथहरुलाई प्रशिक्षण दिएको छ ।
यूवायूवतीहरुलाई ३ दिनसम्म एकीकृत सिद्धान्त र जीवनशैली, नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो ।
चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको र प्रशिक्षणमा पनि यीनै विषयबस्तु समेटिएको संघका मकवानपुर संयोजक सुवास लामाले जानकारी दिए ।
उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजकसमेत रहेका लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताए ।
सेमिनारमा संघका हेटौंडा संयोजक सुवास लामा, विरगंज शाखा संयोजक हरिबहादुर लोप्चन, चन्द्रबहादुर सुनार, राजु घलान, एक्का बहादुर घिसिङ्ग र जीवन घलानले प्रशिक्षण दिएका थिए ।
बुधबार समापन कार्यक्रम
संघले हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी सेमिनारमा सहभागि युथहरुलाई प्रमाणपत्र वितरण गरेको छ । संघका मकवानपुर संयोजक सुवास लामा, विरगंज शाखा संयोजक एवं नेपाल परिवार दलका जिल्ला सचिव तथा प्रदेश ३ का सदस्य हरिबहादुर लोप्चन, पत्रकार बलराम पुडासैनी लगायतले सहभागिहरुलाई खादा ओढाई प्रमाणपत्र वितरण गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै विरगंज शाखा संयोजक लोप्चनले यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र विचलनलाई मध्येनजर गरेर चेतना प्रवाह गर्ने उदेश्यले देशव्यापी रुपमा आफुहरुले यस्ता सेमिनारहरु संचालन गरिरहेको बताए ।