१ सय ८ जोडीको सामुहिक विवाह हुँदै
मकवानपुर, ९ मंसिर । यही मंसिर १५ गतेका दिन विवाह पञ्चमीको अवसर पारेर १ सय ८ जोडीको एउटै मण्डपमा विवाह हुने भएको छ ।
माता जानकीको जन्मभूमि जनकपुरधाममा १५ मंसिरमा हुन लागेको विवाह पञ्चमी महोत्सवमा १ सय ८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको हो ।
जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १ सय ८ जोडीको सामूहिक विवाह हुने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरूले पनि विवाह गर्ने गरेका छन् ।