नेपाल प्रहरी र नेपाल टेलिकमबीच समझौतापत्रमा हस्ताक्षर
![](https://www.tukhabar.com/wp-content/uploads/2019/11/prahari.jpg)
काठमाडौं, १२ मंसिर । नेपाल प्रहरी, नेपाल प्रहरी खेलकुद समिति (नेपाल पुलिस क्लव) र नेपाल दूरसञ्चार कम्पनी
लिमिटेड, नेपाल टेलिकमबीच नेपाल पुलिस क्लवको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन नेपाल टेलिकमले गर्ने सम्बन्धमा दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त समझौतापत्र आदानप्रदान समेत गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीका खेलाडीहरुले विगतदेखि नै राष्ट्रलाई चिनाउन पुर्याउँदै आएको योगदानको चर्चा गर्दै सम्झौताले राष्ट्रिय खेलकुदलाई अगाडि बढाउन र खेलकुद जगतमा एक्यवद्धता जगाउन थप उर्जा मिल्ने विश्वास व्यक्त गरे ।
फुटबल खेलबाट राष्ट्रियता र राष्ट्रिय एकताको जगेर्ना गर्न ठूलो भूमिका निर्वाह हुने उल्लेख गर्दै उनले भने, ‘शान्ति सुरक्षा, अपराध अनुसन्धान सँगसँगै खेल जगतलाई अगाडि लैजाँदै राष्ट्रको गरिमा बढाउन नेपाल प्रहरी लागीपर्दै आएको छ ।’
प्रहरी महानिरीक्षक खनालले खेलकुदका केही सीमिततालाई पूर्ति गर्दै जाने उल्लेख गर्दै प्रहरी खेलाडीहरुले नेपाल प्रहरी मात्र होइन राष्ट्रकै गौरव बढ्ने गरी उच्च नैतिकता, मर्यादा र खेलप्रतिको समर्पणभाव प्रर्दशन गर्दै प्रस्तुत भएमात्र सम्झौताको सार्थकता हुने बताए ।
नेपालमा सम्पन्न हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) लगायत सबै खेलमा महत्वपूर्ण योगदान पुर्याई संगठनको शिर उच्चो बनाउने ठूलै चाहना र अपेक्षा आफूले खेलाडीबाट राखेको उनले चर्चा गरे।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनाललाई जर्सी तथा फुटबल हस्तान्तरण गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फुटबल टिमको प्रायोजन गर्ने मौकाको सम्झौताप्रति खुशी व्यक्त गरे । यस महत्वपूर्ण सम्झौताले नेपाल प्रहरीका खेलाडी र खेलप्रति उत्साह जगाई देशको नाम उच्च राख्न प्रोत्साहन मिल्ने विश्वास उनले व्यक्त गरे ।
भिओआइपी नियन्त्रण लगायत धेरै विषयमा नेपाल टेलिकमलाई नेपाल प्रहरीले ठूलो सहयोग गर्दै आएको चर्चा
गर्दै उहाँले व्यवसायिकता र खेल जगतलाई सँगसँगै लैजान एक अर्कावीच सहकार्य गर्न सकिने विचार व्यक्त गरे ।
दुबै पक्षबीच १ वर्षका लागि भएको उक्त सम्झौता अनुसार नेपाल पुलिस क्लबको पुरुष तथा महिला फुटबल टिमको प्रायोजन गरेवापत कुल ३२ लाख रुपैयाँ नेपाल टेलिकमले उपलब्ध गराउने छ ।