हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
हेटौंडा, १३ पुस । प्रदेश नं. ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले आइतबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकको निर्णयलाई स्वागत गरेका छन् ।
प्रदेश ३ को राजधानी हेटौंडा बनाउने र नाम बागमती राख्ने निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गर्दै उक्त निर्णयको स्वागत गरेको बताए । तु खबरसँग कुरा गर्दै बानियाँले नेकपाको निर्णयको समर्थन गर्ने बताए ।
यो पनि पढ्नुहोस्
नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
नेता बानियाँले प्रदेशसभा बैठकबाट यथाशिघ्र राजधानीको विषयलाई टुङ्ग्याउने पर्ने धारणा राखेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती राख्ने निर्णय गर्दै राजधानी हेटौंडा नै कायम गर्ने सहमती भएको थियो ।
बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश राजधानी टुंग्याउने क्रममा प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो ।
पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा हेटौंडालाई प्रदेश ३ को अस्थायी राजधानी बनाउने निर्णय भएको भन्दै नेता बानियाँले अहिले नेकपाको सचिवालयले यसलाई निरन्तरता दिने गरी गरेको निर्णयको निम्ति धन्यवाद व्यक्त गर्दछु, उनले तु खबरसँग भने । नेपाली काँग्रेसले प्रदेश राजधानी छिट्टै टुंग्याउन र हेटौंडा नै कायम गर्न माग गर्दै आएको थियो, ढिलै भएपनि नेकपाको केन्द्रीय स्तरबाट निर्णय भयो, मेरो समर्थन छ, उनले भने ।