समृद्धिका लागि स्थानीय तहको भूमिका अपरिहार्यः प्रमुख आयुक्त

तु खबर संवाददाता
२०७६ पुष १८,शुक्रबार १७:०१

हेटौंडा, १८ पुस । भीमफेदीमा स्थानीय सरकार संचालन विधि र सूचनाको हकसम्बन्धि अभिमुखीकरण भएको छ । शुक्रबार भीमफेदी गाउँपालिकाको आयोजनामा अभिमुखीकरण भएको हो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले समृद्धिका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

प्रमुख आयुक्त बाँस्कोटाले सहजीकरणका क्रमममा स्थानीय सरकारले विकट क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।

‘मुलुकमा तीन तहका सरकार भएपनि समृद्धिका लागि स्थानीय तहको भूमिकाले महत्व राख्छ ।’ उनले भने ‘त्यसका लागि स्थानीय तहलाई बलियो बनाउनुको बिकल्प छैन ।’ देशभर रहेका ७ सय ५६ वटै स्थानीय तहले आफ्नो क्षेत्रको विकासलाई तीब्रता दिनुपर्ने उनले भनाइ छ । उनले सबै क्षेत्रको तीब्र विकासका लागि सबै स्थानीय तह जुट्नुपर्नेमा जोड दिए ।

उनले सूचनाको हकको सवालमा कोहि कसैले कन्जुस्याईं गर्नु नहुने बताउँदै जनतालाई सूचित बनाउनेदेखि सूचना संप्रेषणमा स्थानीय तह मजबुत हुनुपर्ने दाबी गरे । ‘अहिले सूचना सार्वजनिकको सवालमा धेरै बलियो मापदण्ड बनिसकेको छ । यो अवस्थामा पनि सूचना लुकाउने गरेको उजुरी भने घट्न सकेको छैन ।’ उनले भने ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले ऐतिहासिक महत्व बोकेको भीमफेदीको विकासका लागि चौतर्फी योजना अघि बढाइएको बताए ।

उनले सबै जनताको पहुँच बढाउने गरी विकासका लागि भीमफेदीले नयाँ योजनालाई प्राथमिकता दिएर काम गरिरहेको दाबी गरे । ‘हामीले सबै क्षेत्रको विकासालाई समान रुपमा लिएका छौं ।’ उनले भने ‘कुनाकन्दरामा रहेका जनतालाई विकासको अनुभुति गराउन पछि हट्ने छैनौं ।’

गाउँपालिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, नेपाल पत्रकार महासंघ प्रदेश ३ सल्लाहकार गिरिजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुर कोषाध्यक्ष सुदीप शिवाकोटी, भीमफेदी गाउँपालिकामा रहेका वडा अध्यक्ष, सदस्य, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम गाउँपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी बद्री सापकोटाले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*