राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार ०८:४१

हेटौंडा, २१ पुस । प्रदेश ३ को नेकपा संसदीय दलको बैठकमा तीन दिनसम्म निरन्तर राजधानीको विषयमा सहमतीको प्रयास गरेपनि हालसम्म निर्णय हुन सकेको छैन ।

शुक्रबारदेखि बसेको बैठक आइतबारसम्म आइपुग्दा पनि प्रदेश ३ को राजधानी र नामको विषयमा विवाद चुलिँदा ठोस निर्णय गर्न नसकेको हो । बैठकमा सांसदहरुले मिश्रित धारणा राखेका छन् । केही सांसद राजधानी सार्ने पक्षमा अडिक छन् भने केही सांसद हेटौंडालाई नै राजधानी कायम गरेर जाने पक्षमा छन् ।

नेकपा सचिवालय बैठकले राजधानीमा हेटौंडा र नाम बागमती राख्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेपछि सहमतीको प्रयासमा तीनदेखि हेटौंडामा संसदीय दलको बैठक जारी छ ।

नेकपा मुख्य सचेतक रामेश्वर फुँयालले आइतबार बस्ने दलको बैठकले निर्णय गरेर अगाडि बढ्ने बताएका थिए । तर, राजधानीको विषयमा विवाद हुँदा आइतबारको बैठक बिना निर्णय स्थगित भएको थियो । बैठकमा विवाद भइरहेपछि २२ गते पुनः बस्ने गरी स्थगित भएको हो ।

राजधानी र नामाकरणको विषयमा पार्टीको सचिवालयले गरेको निर्णयअनुसार नेकपाका प्रदेश ३ का सांसदहरु अगाडि बढ्ने भएका छन् ।

शुक्रबारबाट सुरु भएको प्रदेश ३ को नेकपा संसदीय दलको बैठकको पहिलो दिनमा काभ्रेको पक्षमा सांसदहरु उभिएका थिए भने शनिवार अधिकांश सांसदहरुले पार्टीको निर्णय अनुसार हेटौंडालाई नै राजधानी मानेर अगाडि बढ्नु पर्ने औंल्याएका थिए ।

आज सोमबार नेकपाका सांसदहरु सहमतीको प्रयास गर्दै छलफल गर्ने कार्यक्रम छ । नेकपाका एक सांसदले भने– ‘आज सहमतीको प्रयास गर्दै सांसदहरु फेरि छलफलमा बस्दै छौं ।–’

कांग्रेसले ‘सरप्राइज’ दिने

प्रदेश ३ को राजधानी र नामको विषयमा नेकपा संसदीय दलले ठोस निर्णय गर्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘सरप्राइज’ दिने भएको छ ।

आज साँझ हेटौंडामा बस्ने कांग्रेस संसदीय दलको बैठकले राजधानी र नामको विषयमा ‘सरप्राइज’ दिने कांग्रेसका एक सांसदले तु खबरसँग बताए । ‘नेकपाले विवाद मिलाउन नसक्दा जटिल हुने आउने देखियो । कांग्रेसले हेटौंडालाई राजधानी बनाउने पक्षमा निर्णय लिनेछ ।–’ उनले भने ।

हेटौंडालाई राजधानी कायम गराउन कांग्रेसले महत्वपूर्ण भूमिका मतदान प्रक्रियामा देखाउने उनले दावी गरे । राजधानीमा हेटौंडालाई कांग्रेसले मतदान गर्ने संकेत देखिएको छ । कांग्रेससँग प्रदेशसभामा २२ मत छ ।

कांग्रेस संसदीय दलको गत शुक्रबार काठमाडौंमा बसेको बैठकले प्रदेश ३ को राजधानी र नामको विषयमा प्रदेशसभा सदस्यलाई व्हिप नलगाउने र मतदान स्वतन्त्ररुपले गर्न पाउने निर्णय गरेको थियो ।

बैठकले सत्तारुढ दल नेकपाले संविधानको मर्म र भावना विपरित राजधानी र नामाकरणको विषयमा संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण रहेको बताएको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*