हेटौंडा आउन २ वर्षभित्र सुरुङमार्ग तयार भइसक्छः मुख्यमन्त्री पौडेल (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १६:१६
Featured Video Play Icon
file photo

हेटौंडा, २७ पुस । प्रदेशसभा बैठकमा हेटौंडालाई राजधानी बनाउने सन्दर्भमा कतिपय सांसदहरुले हेटौंडा आउन राम्रो सडक नभएको भन्दै गुनासो गर्नु उचित नभएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

आज आइतबार प्रदेशसभा बैठकमा राजधानी हेटौंडा प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै पौडेलले हेटौंडा आवागमनको दुःख, कठिनाई छ भन्नु कति ठिक हो भन्दै प्रश्न गरे ।

‘ देशमा हेटौंडा जस्तो कुनैपनि शहर छैन, जस्लाई ६ वटा राजमार्गले जोडिएको छ । अनि, आवागमनको दुःख र कठिनाई छ भन्नु कति ठिक हो ।–’ ? पौडेलले भने ।

उनले सबैको परिश्रम र मिहेनतले अबको २ वर्षभित्र सुरुङमार्ग बनाउन प्रदेश सरकार अगाडि बढेको बताए । डीपीआरको काम अन्तिम चरणमा रहेको बताउँदै उनले फागुनसम्म ठेक्का प्रक्रियामा लैजाने बताए ।

हेटौंडा आउने विभिन्न सडकको स्तरउन्नती गरिने बताएका छन् । पौडेलले रामेछाप र सिन्धुलीका जनतालाई काठमाडौं भन्दा हेटौंडा नजिक हुने बताए ।

मुख्यमन्त्री पौडेलले सम्भव भएसम्म छिट्टै हेटौंडामा एयरपोर्ट बनाउने बताए । दुईपटकसम्म प्राविधिक टोलीले निरीक्षण गरेको भन्दै प्राविधिकबाट एयरपोर्टका लागि उपयुक्त भएको धारणा आएको सुनाए ।

उनले एयरपोर्ट बनाउन हेटौंडामा पर्याप्त जग्गा भएको बताए । उनले एयरपोर्टको लागि विस्तृत अध्ययन हुन बाँकी रहेको बताए ।

उनले हेटौंडालाई दुरदराजमा छ भनेर भनिएको प्रति आपत्ति जनाए । मकवानपुरले प्रदेशका ७ जिल्लालाई छोएको भन्दै दुरदराजमा छ भनेर भन्नु न्यायोचित्त नभएको बताए । प्रदेश सरकारले काभ्रेलाई जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले मुख्यमन्त्री भएदेखि नै आफूले काठमाडौं उपत्यका र आसपास राजधानी राख्न नहुने अडान लिँदै आएको बताए । ‘काठमाडौं किन व्यवस्थित बनाउन नसकिएको, यहाँको जनघनत्व वृद्धि भएर हो । अनि, हामी उपत्यका र आसपास प्रदेशको राजधानी बनाएर काठमाडौंलाई व्यवस्थित पार्न सक्दैनौं ।–’ उनले भने ।

मुख्यमन्त्री पौडेलले उपत्यका र आसपास प्रदेश राजधानी बनाएर सिंहदरबारको छायाँमा रहने बताए । सिंहदरबारको छायाँमा प्रदेश सरकार भएपछि सांसदहरुको अस्तित्व सकिने बताए । उनले हेटौंडामा संसद आवास बनाइने घोषणा गर्दै यसको लागि आगामी वर्ष बजेट बिनियोजन गरिने बताएका छन् ।

प्रदेशसभा बैठकबाट बाहिर निस्किएर प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले सबैको साझ सहमतीबाट प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राखिएको बताए । उनले सबैको सहयोगमा आज घोषित राजधानी र नाम एतिहासिक महत्वको निर्णय भएको पत्रकारहरुलाई सुनाए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*