अजिता हत्या प्रकरणः अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Ajita-bhujel-ghising.jpg)
हेटौंडा, १० माघ । तेस्रो लिङ्गी तथा अधिकारकर्मी अजिता भुजेलको हत्या शंकास्पद बन्दै गएको छ । हत्या भएको आज ७ दिन बितिसक्दा पनि प्रहरीले अजिताको हत्या कस्ले, किन र कहिले भएको हो पत्ता लगाउन सकेको छैन ।
अजिताको माघ ४ गते हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । उनको घाँटीमा तारले बेरिएको जस्तो डाम र टाउकोमा घाउचोट थियो ।
मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानले माघ ३ गते मध्यरातसम्म अजिता हेटौंडा–थानाभर्याङमा रहेको खुलेको छ । उनले चढ्दै आएको स्कुटर पनि थानाभर्याङमा भेटिएको थियो ।
हेटौंडा–११ नवलपुर निवासी अजिता हत्या प्रकरण थप रहस्यमय बन्दै गएपछि थप अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली आउने भएको हो । प्रहरीको उच्च अधिकारीले तु खबरलाई दिएको जानकारी अनुसार प्रहरीको विशेष टोली मकवानपुर आउन लागेको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट प्रहरीको विशेष टोली आउन लागेको स्रोतले जानकारी दिएको छ । प्रहरीको विशेष टोली कस्को नेतृत्वमा कहिले आउँदै छ, त्यो भने खुलेको छैन ।
अजिता हत्या प्रकरणमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले महाशाखालाई विशेष टोली पठाउन अनुरोध गरेपछि टोली आउन लागेको स्रोतले जनाएको छ ।
मकवानपुर प्रहरीले अजिता हत्या आरोपमा ५ जनालाई पक्राउ गरेपनि पक्राउ परेकाहरु हत्यामै संलग्न भएको भन्न नमिल्ने बताउँदै आएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीले कल डिटेल, सिसिटिभी फुटेज र अन्य अनुसन्धानको आधारमा ५ जनालाई यसअघि नै पक्राउ गरेको हो ।
यो पनि पढ्नुहोस् ।
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)
- यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !