हेटौंडाकी अजिताको त्यो सपना जस्को उनीसँगै ‘हत्या’ भयो

तु खबर संवाददाता
२०७६ माघ ११,शनिबार १७:२७

हेटौंडा, ११ माघ । माघ ३ गते बिहान निलहीरा समाजकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङलाई हेटौंडाबाट अजिता भुजेलको फोन आयो ।

‘ममी, मसँग १२ लाख छ, घर बनाउँ ?’ तेस्रोलिङ्गी अजिता पिंकीलाई ‘ममी’ भन्थिन् ।

‘यत्ति पैसाले के घर बन्ला र ! अझ दुईचार वर्ष पैसा जम्मा गर अनि बनाउन,’ पिंकीले सुझाइन् ।

घर बनाउने सपना बोकेकी उनै अजिता भने अहिले संसारबाट बिदा भइसकेकी छिन् । माघ ३ गते पिंकीलाई घर बनाउने सल्लाह मागेकी अजिताको माघ ४ गते बिहानै हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव भेटियो ।

अजिता २९ वर्षकी थिइन् । ७ वर्ष भयो, उनले पुरुषबाट महिलाका रुपमा आफूलाई स्वीकारेको । उनै अजिता मकवानपुरबाट तेस्रो लिङ्गीको आधारमा नागरिकता लिने पहिलो हुन् ।

माघ ३ गते साँझ फेरि अजिताले पिंकीलाई फोन गरिन् ।

‘एउटाले १० लाख ऋण मागेको छ, कागज गर्छु भनेको छ । दिऊँ?’ अजिताले हरेक कुरामा पिंकीको सल्लाह लिन्थिन् ।
‘ऋण लग्नेको भर हुन्न । नदेउ, आफैंसँग राख,’ पिंकीले प्रेमपूर्वक सल्लाह दिइन् ।

भोलिपल्ट, बिहानै पिंकीको मोबाइल बज्यो ।

‘अजिताको लाश भेटियो, तुरुन्त हेटौंडा आउनुर्पयो,’ फोन गर्नेले आत्तिदै भन्यो ।

पिंकीको हात काँम्यो, आँखा टिल्पिलायो, शरीर तात्यो । तर, उनको दिमागमा अजिता होइन, वृद्ध भइसकेका उनका हजुरबुबाआमाको मुहार नाच्यो । जसको बाँच्ने आधार अजितामात्र थिइन् ।

अजिताको पनि सपना थियो– हजुरबुबा र हजुरआमालाई घर बनाएर राख्ने । तर उनीसँगै उनको सपनाको ‘हत्या’ भयो । पिंकीले भक्कानिदै सुनाइन्, ‘अब बुढाबुढीको हालत के होला ?’

अजिताको शरीर नांङ्गै, गुदद्वार ठूलो देखिन्थ्यो । बलात्कारको आशंका गरियो तर पोष्टमार्टममा त्यस्तो नदेखिएको मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए ।

‘लिखित रिर्पोट आएको छैन तर टाउकोमा चोट लागेको र घाटीमा डोरीले कसेको भन्ने मौखिक जानकारी पाएका छौं,’ उनले भने । पिंकी भने बलात्कारपछि हत्या गरिएको हुनसक्ने दाबी गरिरहेकी छन् । उनको प्रश्न छ, ‘नत्र किन कपडा सबै फालिएको ? गुदद्वारको अवस्था कसरी त्यस्तो हुन्छ ?’

विशेष टोली बनाएर अजिताको हत्याराको खोजी भइरहेको राठौरको भनाइ छ । तर अपराधीको पहिचान भएको छैन । सोधपुछका लागि केही व्यक्ति समातिए पनि प्रहरीले थप जानकारी दिएको छैन ।

पिंकीका अनुसार केही समयदेखि अजिता ‘पार्टनर’ सँग बस्दै आएकी थिइन् । घटनापछि उक्त केटा फरार छन् ।

कान्तिपुर दैनिकको सहयोगमा

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*