उखु किसानको ९२ करोड ३० लाख अनुदान कोलेनिकामै थन्कियो

तु खबर संवाददाता
२०७६ माघ १२,आईतवार ०८:२६
file-photo

सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा। युवकध्वज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको बताए ।

‘किसानलाई अनुदान दिने कार्यविधिमा अनुदान रकम पाउन नेपाली उखु उत्पादक किसान हुनैपर्ने र उत्पादन भएको उखु नेपाली चिनी उद्योगलाई बिक्री गरेको प्रमाणसहितको पुष्टि हुने पर्याप्त कागजात हुनुपर्ने व्यवस्था छ,’ सचिव जीसीले भने, ‘उखु क्षेत्रमा रहेका बिचौलिया नियन्त्रण गर्न यस्तो व्यवस्था राखिए पनि तल्लो तहमा सबै निकायबीच समन्वय नहुँदा किसानले अनुदान रकम नपाएका हुन् ।’

उनका अनुसार एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको थियो । निकासा भएको रकम ६ महिनाअघि आठ जिल्लाका भुक्तानी समितिलाई उपलब्ध गराइएको थियो । सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ उपलब्ध गराउँछ ।

कागजात मिलेको आधारमा करिब ५५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाको खातामै थन्किएको सचिव जीसीले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*