मृतक अजिता, भुजेलबाट कसरी भइन् घिसिङ ?

तु खबर संवाददाता
२०७६ माघ १२,आईतवार १३:०८

हेटौंडा, १२ माघ । हेटौंडाकी तेस्रो लिङ्गी अधिकारकर्मी अजिता भुजेलको हत्या भएको आज १२ दिन भयो । यतिका दिनसम्म अजिताको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

उनको वास्तविक नाम अजिता भुजेल हो । उनले नाम बसन्ती पनि राखेकी थिइन् । उनको ‘वसन्ती भुजेल’ नामको फेसबुक अकाउन्ट केही समयअघि ‘वसन्ती घिसिङ’ बनाइएको थियो । अजिताको दुहली बनेर कसैको घरमा भित्रने सपना थियो, तर, उनीसँगै सपनाको पनि ‘हत्या’ भयो । उनले आफ्नो थर नै घिसिङ किन बनाइन्, रहस्यमय छ ।

अजिताको हेटौंडा–५ क्याम्पाडाँडामा माघ ४ गते मृत अवस्थामा शव भेटिएको थियो । उनको घाँटीमा तारले बेरिएको अवस्थामा र टाउकोमा चोट लागेको थियो ।

अजिता केही महिनादेखि एक युवकसँग ‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएकी थिइन् । युवकको नाम, थर र ठेगानाबारे कसैलाई थाहा छैन् ।

अजिताको हत्या भएपछि उक्त युवक फरार रहेको तेस्रो लिङ्गीको क्षेत्रमा काम गर्दै आएको निल हिरा समाज मकवानपुरले जनाएको छ । समाजले ती युवकलाई खोज्नु पर्ने माग गर्दै आइरहेको छ ।

अजिताले भुजेलबाट घिसिङ थप परिवर्तन गरेपछि ती केटाको थर घिसिङ हुनसक्ने अनुमान निल हिरा समाजकी केन्द्रीय अध्यक्ष पिङ्गी गुरुङले लगाएकी छिन् ।

मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौर भन्छन्, ‘अजिताको पार्टनर थियो भन्नेसम्म थाहा भयो तर ऊबारे कसैलाई केही थाहा रहेनछ, त्यसैले अनुसन्धान गर्न गाह्रो भइरहेको छ ।’ शुक्रबार राति अजिता दुई पुरुषसँग होटलबाट निस्किएको सिसीटिभी फुटेज फेला परेको छ । प्रहरीले त्यो रात होटलमा बस्ने ग्राहकलाई ‘ट्रयाक’ गरिरहेको छ ।

अजिता जन्मिएको वर्ष दिन नबित्दै बुबा बिते, लगत्तै आमा पनि बितिन् । आडभरोसा उनै हजुरबुबाआमाको । पढ्न पाइनन्, तेस्रोलिंगी भएपछि जागिर पाउन उस्तै मुस्किल ।

आफू पालिनुपर्ने, उमेर घर्किसकेका अभिभावकको हेरचाह गर्नैपर्ने । समाजकी केन्द्रीय अध्यक्ष पिंकी गुरुङ भन्छिन्, ‘बाध्यताले अजिता यौनकर्मी बनेकी थिइन् ।’

कान्तिपुर दैनिकको सहयोगमा

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*