भात पकाउन घर पठाएको छोरी चिया बगानमा मृत भेटिएपछि…
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/hatya-3.jpg)
झापा, ७ फागुन । चौध वर्षको कलिलो उमेर । विद्यालयका एक किशोरसँग प्रेम । घरबाट सामान्य गाली गरेपछि मौन प्रायः थिइन् ।
गाउँमा पुराण लागिरहेको थियो । आमा छिमेकीको घरमा काम गर्न गएकी थिइन् । शनिबार पुराणबाट निस्किएर आमाले काम गर्दै गरेको घरमा पुगिन् । त्यहाँ नुहाएर कपडा बोकेर घरतिर लागिन् ।
आमाले गएर भात पकाउँदै गर भनेपछि निस्किएकी उनी साँझ घर भने फर्किइनन् । अन्य दिन पनि उनी कहिलेकाहीँ हराउँथिन् ।
परिवारले प्रहरीलाई बताएअनुसार घरमा नभनी आफन्तको घरमा जाने गरेकी थिइन् । तर, जब आइतबार पनि उनी फर्किइनन् तब खोजी सुरु भयो । सोमबार झापाको कचनकबल गाउँपालिकाको चिया बगानमा एक जना किशोरीको शव सर्वसाधारणले देखे ।
खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठ आफैं घटनास्थल पुगे । त्यसपछि खुल्यो, उनी शनिबारदेखि हराइरहेकी लक्ष्मी देवकोटा मावि, सुकुनाडाँगीको कक्षा ६ मा अध्ययनरत् विष्णुमाया कार्की थिइन् ।
शंकास्पद भएको स्थानीयवासीको दाबी
चिया बगानको एउटा कुनोमा रुखको ठूटो । त्यही रुखको जरामा सलको पासो । केही गहिरो गरामा तुन्द्रुङ्ग झुण्डिरहेको शव । नजिकै किशोरीको भित्री वस्त्र । सुरुमा प्रहरीलाई पनि शंकास्पद लाग्यो ।
झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले पनि विशेष चासो दिए । बिर्तामोडको विएण्डसी हस्पिटलबाट फरेन्सिक विज्ञ अर्चना चौधरीसहितको टोली अपराधस्थलमा पुग्यो ।
‘त्यस्तो अवस्थामा आत्महत्या हुनसक्छ कि सक्दैन भनेर पनि बुझ्नु थियो । त्यसैले फरेन्सिक विज्ञलाई नै बोलाएका थियौं’, कोइरालाले भने, ‘शरीरमा कुनै चोटपटक वा घाउका निशान थिएन ।’
हालसम्म सुसाइड नोट पनि भेटिएको छैन । किशोरीको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टले नै बताउने झापाका डीएसपी श्रेष्ठ बताउँछन् । प्रहरीले शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।
‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, कोइराला भन्छन्, ‘केही दिनमा सत्यतथ्य बाहिर आउँछ ।’
स्थानीयवासी नवराज भट्टराईले शवको प्रकृति हेर्दा आत्महत्या नभइ हत्या भएको आशंका गर्ने प्रशस्त ठाउँ देखिएको दाबी गरेका छन् । उनले पीडितको न्यायका लागि प्रहरी प्रशासनसँग अपिल गरेका छन् ।
अनलाइनखबरबाट साभार