‘बकैयावासीले चिन्ता गर्नु पर्दैन’

तु खबर संवाददाता
२०७७ बैशाख १६,मंगलवार १९:३८

पूर्वि मकवानपुरको बकैया गाउँपालिका कोरोनाविरुद्धको अभियानमा सक्रिय छ । अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र कर्मचारीहरु अभियानमै नियमित जुटिरहेका छन् । राहत वितरण, स्वास्थ्य परीक्षणका काम निरन्तर भइरहेको छ । गाउँपालिकाले कृषि, उत्पादन र विकास निर्माणको कामलाई केही सहज बनाउने प्रयत्न गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष दामोदर खनालसंग तु खबरले (कोरोना विशेष) गरेको कुराकानी यसप्रकार छ ।

 बकैया गाउँपालिकाले कोरोनाविरुद्धको अभियानमा कसरी काम गरिरहेको छ ?

कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वनै जटिल अवस्थामा छ । नेपालमा पनि संक्रमित भेटिन थालेपछि सरकारले चैत ११ गतेबाट देशैभर लकडाउन गर्यो । हामीले सरकारको निर्णय र निर्देशन बमोजिम लकडाउनको पूर्ण पालना गर्न सम्पूर्ण गाउँबासीहरु मा अपिल गरेका छौँ ।

घरघरमै गएर स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सामग्री जस्तै मास्क, सेनिटाइजर, डिटोल, साबुनलगायतका सामग्री वितरण गरिनैरहेका छौँ ।

विदेशबाट आएकाहरुको तथ्याङ्क संकलन गरेका छौँ । चिकित्सकहरुद्वारा उनीहरुको नियमित स्वास्थ्य परीक्षण भैरहेको छ, अन्य ज्वरोका विरामी वा कोरोनाको शंकास्पद विरामी फेला परे तुरुन्तै उनीहरुको किटमार्फत् आरडीटी परीक्षण गर्ने र अवस्था अनुसार क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

खुशीको कुरा हालसम्म मकवानपुरमा कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन । बकैया गाउँपालिकामा त अहिले क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था पनि देखिएको छैन । हामीले लकडाउनको अवधिभर गाउँवासी भोकै बस्न नपरोस् भनेर विभिन्न चरको राहत वितरणको कामलाई उच्च प्राथमिकतामा राखेका छौँ ।

कसैले म भोकै भन्न आएमा हामी उसको समस्याको सम्बोधन गर्छौँ । हामीले राजधानी काठमाडौँ लगायतका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका एक हजार भन्दाबढीको उद्दार गर्यौँ । अझै उद्दार गर्ने क्रम निरन्तर छ ।

 विपद् व्यवस्थापन कोषको अवस्था के छ ?

कोरोना मात्र नभई विभिन्न प्राकृतिक विपत्ति आइलाग्न सक्ने भन्दै हामीले ४० लाखको प्रकोप व्यवस्थापन कोष खडा गरेका थियौँ ।

अहिले सोही प्रकोप व्यवस्थापन कोषमा प्राप्त भएका अन्य सहयोगहरु जम्मा गरेका छौँ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको १० लाख र अन्य विभिन्न संघ संस्था निकाय र सामाजिक व्यक्तिहरुले गर्नुभएको नगद जम्मा गरेका छौँ । हामीलाई खाद्यान्नहरु सहयोगका रुपमा प्राप्त भइरहेको छ ।

उक्त कोषमा जम्मा भएको रकमबाट नै हामीले स्वास्थ्य सामग्री, राहत खरिदको कामगरेका छौँ । दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्ने, आर्थिक रुपले विपन्न, असहाय, अशक्तलगायतलाई राहत स्वरुप खाद्यान्नको प्याकेट वितरण गर्ने काम पनि भइनैरहेको छ ।

हालसम्म बकैया गाउँपालिकाका १ हजार २ सय ९७ घर परिवारले राहत सामग्री प्राप्त गरेका छन् । राहतमा उपलब्ध गराइने खाद्यान्नको व्यवस्थापन हामीले परिवार संख्याको आधारमा गरेका थियौँ । समस्यामा परेकाहरुको लगत संकलनको काम निरन्तर रुपमै भइरहेको छ ।

गाउँवासीले पहिला खान पाउनुपर्छ भन्ने मान्यताले हामीले राहत वितरणलाई नै उच्च प्राथमिकतामा राखेका छाँै । कोही भोकै बस्न नपरोस् भन्ने हाम्रो मान्यता हो ।

 राहत वितरणको व्यवस्थापन कसरी मिलाउनुभएको छ ?

हामीले राहत वितरण विवादरहित र प्रभावकारी बनाउन गाउँपालिकामा भएका प्रत्येक वडाको विपद् व्यवस्थापन समितिको बैठक बसेर वास्तविक समस्यामा परेका छन् वा छैनन् भन्ने पूर्ण जानकारी लिएर मात्रै उनीहरुलाई सरकारको कार्यविधिमा रहेर वितरण गरेका छौँ ।

भिडभाड नहोस्, कोरोनाको संक्रमण फैलन नपाओस भन्नका लागि हामीले टोलटोलमै गएर वितरणको काम गरिरहेका छौँ ।

परिवार संख्याको आधारमा चामल १० देखि ३० किलोसम्म, दाल २ देखि ४ किलोसम्म त्यसैगरी तेल, नुन, चिउरा र साबुनलगायतका सामग्री वितरण गरेका छौँ ।

गाउँपालिकामा आवश्यक क्वारेन्टाइन कक्ष, चिकित्सक वा स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री छन् त ?

छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेड, ठिंगनमा ४ र हात्तीसँुडे स्वास्थ्य केन्द्रमा ४ गरी जम्मा २० बेडको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा छ ।

तर हालसम्म कसैलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था छैन । विदेशबाट आएकाहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । केहीलाई भने हामीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ ।

हामीसंग स्वास्थ्य सामग्रीहरु अभाव भएको छैन । स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सामग्री पनि अभाव भएको छैन । किटमार्फत् हामीले घरघरमै गएर आरडीटी परीक्षण गरिरहेका छौँ ।

कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत अत्यावश्यक सेवा प्रवाहमा खटिने सबैलाई हामीले सुरक्षाका सामग्री उपलब्ध गराएका छौँ ।

गाउँवासीलाई के भन्न चाहानुहुन्छ ?

अहिले गाउँवासी कोरोनाबारे सचेत भइसकेको अवस्था छ । सचेतनाका कार्यक्रमहरु पनि भइनैरहेका छन् ।

सुरक्षित रहौँ । विदेशबाट आएकाहरुले अनिवार्य परीक्षणका लागि आउनुहोस्, लकडाउनको पूर्ण पालना गरौँ, आफु र अरुलाई बचाऔँ ।

समस्या परे सम्बन्धित वडा वा गाउँपालिकामा सम्पर्क गरौँ । हामी त्यसको सम्बोधन गर्नेछौँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*