थाहा नगरपालिका – कृषिमा आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण र यांत्रिकीकरण गरिने
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/thaha-nagar-tarkari.jpg)
मकवानपुर । थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ मा कृषि क्षेत्रलाई आधुनिकीकरण, विविधिकरण, व्यवशायीकरण र यांत्रिकीकरण गर्दै लैजाने भएको छ ।
अर्गानिक खेतीमा जोड दिँदै कृषिको पकेट क्षेत्र घोषणा गरी कृषि अनुदानको व्यवस्था गरिने र कृषि विकासको लागि प्लाष्टिक टनेल, विरुवा वितरण, मल विउ ढुवानी, हाइटेक नर्सरी स्थापना संचालन, लगायतका कृषि कार्यलाई कृषि समूह, कृषि सहकारी/कृषिफर्म मार्फत ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी उत्कृष्ट कृषि उत्पादकलाई पुरस्कृत गर्नुको साथै एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
कृषिमा उत्पादन भएका कृषि उपज बेचबिखनलाई सर्वसुलभ बजार व्यवस्थापनको लागि बिचौलियाहरु कम गर्न सहकारीहरु मार्फत सहकारी बजार विकास कार्यक्रम संचालन गरिने र नगरका किसानहरुलाई मध्येनजर गरेर साना सिंचाइका कार्यक्रम, माटो व्यवस्थापन तथा परीक्षणका कार्यक्रमहरु संचालन गरिने भएको हो ।
संघीय र प्रदेश सरकारसमक्ष पहल गरी आधुनिक हाइटेक नर्सरी स्थापना गर्नुको साथै नगरमा प्रदेशस्तरीय कृषि उपजको विरुवा उत्पादन नर्सरी निर्माण गरिने र पशु सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाइने नगर प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् ।
उनका अनुसार कृषि र पर्यटन क्षेत्रमा विशेष अनुदानको व्यवस्था गरिएको छ । घरेलु तथा साना उद्योग संचालन गर्दा आवश्यक पर्ने सीप तथा यान्त्रीक साधनमा विशेष अनुदान दिइने व्यवस्था गरिने भएको छ ।
कृषि, पर्यटन र वन पैदवारजन्य क्षेत्रमा उद्योग संचालन गर्न चाहने उद्यमीहरुलाई आर्थिक सहयोग गर्नको लागि चालु कोषको व्यवस्था गर्नुको साथै उद्योगहरुको व्यवस्थापनमा सहयोग हुनेगरी आवश्यक पर्ने विद्युत पानीको आपूर्तिमा नगरले सहजिकरण गर्ने जनाएको छ ।
थाहानगरमा औद्योगिक ग्राम स्थापनाको लागि आवश्यक पहल गर्नुको साथै चिया बगानलाई थाहानगरको गौरवको योजनाको रुपमा विकास गरिने र किबि खेतीलाई प्रोत्साहन गर्नका लागि पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकारको सहकार्यमा थाहानगरमा कम्तिमा एक स्थानमा ‘साप्ताहिक थाहा बजार’ (हाट बजार) शुभारम्भ गरिने भएको छ ।
‘एक घर, एक फलफुल’ ‘एक घर एक करेसाबारी’ नीति लिइने भएको छ जसका लागि लागि ५० प्रतिशत अनुदानमा किसानहरुलाई विरुवा वितरण गरिने व्यवस्था मिलाइने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण थाहानगरका किसानहरुले उत्पादन गरेको तरकारी ठूलो मात्रामा क्षति भएको हुँदा चित्लाङ क्षेत्रमा भएको क्षतिको विवरण संकलन भएकोमा त्यस्तो क्षतिको लागि राहत उपलब्ध गराउन संघ तथा प्रदेश सरकार समक्ष पहल गर्ने र आगामि आर्थिक वर्षबाट कृषि बीमाको लागि पहल गरिने भएको छ ।
थाहानगरले तरकारी र आलु उत्पादनमा प्रसिद्धी पाइरहेको सन्दर्भमा आलु उत्पादनलाई थप बढवा दिन ‘बीउ सुरक्षा कार्यक्रम’ संचालन गर्ने भएको छ जसका लागि ‘पिबिएस आलुलाई पकेट क्षेत्र घोषणा गरिने भएको हो ।
किसानबाट उत्पादन भएको पिबिएस विउ तीन पुस्तासम्म नगरपालिकाले नै खरिद गरी किसानलाई वितरण सुपथ मुल्यमा दिइने नीति कार्यक्रममा उल्लेख छ ।
आगामी ३ बर्षमा नगरका सबै किसानलाई मागको आधारमा आलुको विउ वितरण गरी बीउमा आत्मनिर्भर गराइने भएको छ ।
थाहा नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाइने लक्षका साथ ‘पशुपंक्षी पालनमा अनुदान वितरण सम्बन्धी कार्यविधि’ निर्माण गरी थाहानगरका १२ मध्ये एउटा वडामा गाई पकेट क्षेत्र, नमुना भैसी पालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र तोकी गाईभैसी पालक किसानको वर्गिकरण गरेर अनुदान प्रतिशत निर्धारणसमेत गरी अनुदानको व्यवस्था गरिने भएको छ ।