थाहा नगरपालिकाद्वारा ‘फोहोरबाट मोहोर’ कार्यक्रम संचालन गरिने

तु खबर संवाददाता
२०७७ असार १३,शनिबार १५:३०

मकवानपुर । थाहा नगरपालिकाले सामुदायिक वनहरुलाई नगरपालिकामा अभिलेखीकरण गरी ती सामुदायिक वन उपभोक्ता समितिसंग समन्वय गरिने र विरुवा उत्पादन तथा वृक्षरोपणका कार्यक्रमहरु संचालन गर्ने आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

पर्यटकीय क्षेत्रमा गुराँस प्रजातीको विरुवा रोपिने, सामुदायिक वन क्षेत्रमा आयआर्जन हुने प्रजातिका विरुवाहरु रोप्नका लागि प्रोत्साहन गर्ने र नगरमा प्रदेशस्तरीय विरुवा उत्पादन नर्सरी निर्माण गरिने भएको छ ।

कुलेखानी जलाधार क्षेत्रका विभिन्न स्थानहरुमा चेक ड्याम निर्माण गरिने, वातावरण, जलवायु, परिवर्तन आदिबाट हुने प्रभावको मूल्याङ्कन गरेर विशेष कार्यक्रम संचालन गर्ने, कृषिमा प्रयोग गरिने विवादीको प्रयोगलाई न्यूनिकरण गरिने र अर्गानिक खेतीको विकास गरिने भएको छ । थाहा नगरलाई हरित शहरको रुपमा विकास गरेर आगामी ३ वर्ष भित्र वातावरणमैत्री नगर घोषणा गरिने भएको हो ।

नगरको फोहोर व्यवस्थापनका लागि टोल विकास संस्था र बजार व्यवस्थापन समितिलाई सक्रिय बनाइनुको साथै फोहोर व्यवस्थापन वापत प्रत्येक परिवारबाट फोहोर व्यवस्थापन शुल्क लगाई यस्तो शुल्कको परिचालन बजार व्यवस्थापन समिति र टोल विकास संस्था मार्फत गरिने भएको छ ।

पालुङ, बज्रवाराही र सिमभन्ज्याङ क्षेत्रमा बनेका सेग्रीगेशन हाउसलाई थप व्यवस्थित गर्दै ‘फोहोरबाट मोहोर’ कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ ।

फोहोर व्यवस्थापनको लागि डष्टविन, किचेन विन, कम्पोष्ट विनलगायतका सामाग्रीहरु वितरणको लागि विकास साँझोदारहरुसंग सम्न्वय गरिने, शौचालयजन्य फोहोर व्यवस्थापनका लागि स्थान छनोट गरी कार्यक्रम संचालन गरिने, नगरको वडा नं. ९ र १० लाई मध्येनजर गरेर सेग्रिगेशन हाउस निर्माणका लागि पहल गरिने भएको छ ।

समग्र फोहोर व्यवस्थापनका लागि छिमेकी पालिकाहरु समेतको सहकार्यमा ल्याण्डफिल्ड साइडको पहिचान गरी आवश्यक पूर्वाधार विकासका लागि कार्य प्रारम्भ गरिने भएको हो ।

बाढी र पहिरोको जोखिममा रहेका वस्तीहरुका लागि तटबन्ध गरी बस्ती बचाउ कार्यक्रम संचालन गरिने भएको छ । विपदबाट बच्नको लागि विपद व्यवस्थापन कोष खडा गरिने भएको छ । बाढी पहिरो आगलागी भई घरबार विहिन र अंगभङ्ग भएका परिवार र व्यक्तिहरुलाई राहत र औषधि उपचारका लागि अस्पतालसम्म पुग्ने यातायात खर्च नगरपालिकाले उपलब्ध गराउने भएको छ ।

आगलागी तत्काल निभाउनको लागि बारुणयन्त्र (दमकल) लाई २४ सै घण्टा तयारी हालतमा राखिने, विपद व्यवस्थापन प्र्रतिकार्य योजनालाई अद्यावधिक गरिने र विपद न्युनिकरणका लागि अत्ति आवश्यकीय सामाग्री व्यवस्थापनमा पहल गरिने नीति कार्यक्रममा उल्लेख छ ।

५० भन्दा बढि सामुदायिक वनहरुलाई नियमिति नवीकरण गराउने र वातावरणका लागि आवश्यक सहजीकरण गरिने र सामुदायिक वनमा हुने जडिबुटीको अध्ययन अनुसन्धान गरी जडिबुटी खेतीका लागि प्रोत्साहन गरिने भएको हो ।

स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवाको यकिन गर्न अस्पतालजन्य फोहोर व्यवस्थापनलाई व्यवस्थित र सुदृढीकरणमा विषेश ध्यान दिइनुको साथै थाहानगरलाई प्लाष्टिक झोला मुक्त नगर घोषणा गर्नको लागि आगामि आर्थिक वर्षदेखि थाहानगरको वडा नम्बर ११ बाट परीक्षणको रुपमा कार्यक्रम संचालन गरिने भएको छ ।

वातावरण तथा सरसफाईको जनचेतना अभिवृद्धिको लागि टोल विकास समिति र बजार व्यवस्थापन समितिको संलग्नतामा वातावरण दिवस मनाइने भएको छ । मापदण्ड पुगेका सडक किनारामा स्थानीय जातको वृक्षरोपण गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*