थाहा नगरपालिका – सामाजिक विकासको क्षेत्रमा के– कस्ता छन् योजना ?

तु खबर संवाददाता
२०७७ असार १३,शनिबार १६:२५

मकवानपुर । थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा सामाजिक विकासको क्षेत्रमा विभिन्न काम गर्ने योजना सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालय सुधार कार्यक्रम संचालनलाई निरन्तरता दिने, विद्यालयहरुमा क्रमशः ल्याब व्यवस्थापन तथा कम्प्युटर व्यवस्थापन, विद्यालयहरुमा इ–हाजिरीको व्यवस्थालाई निरन्तरता दिइने र विद्यालयको पाठ्यपुस्तक, छात्रवृत्तिलगायत विद्यालयमा दिइने अनुदान रकम समयमै पु¥याउने व्यवस्था गरिने थाहा नगरले जनाएको छ ।

त्यसैगरी विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई समायोजन गरिने, आवासीय विद्यालय संचालन गर्नुको साथै विद्यालय, कक्षा र विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरिने भएको छ । शिक्षाको गुणस्तर मापन गर्नको लागि ५ र ८ को लागि नगरस्तरीय परीक्षा संचालन गरिने भएको छ । निजी क्षेत्रबाट संचालित विद्यालयहरुलाई पूर्वाधार विकास र सिकाई उपलब्धी बढाउन आवश्यक पहल गरिने भएको छ ।

स्वास्थ्य सम्बन्धी जानकारीको लागि कम्तिमा थप २ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम संचालन गरिनुको साथै उत्कृष्ट हुने विद्यालय, छात्र, छात्रा र विषय शिक्षकलाई पुरस्कार र सम्मानको व्यवस्था गरिने भएको छ ।
सिकाई उपलब्धी कमजोर भएका विद्यालयमा उपलब्धी बढाउनको लागि विशेष कक्षाको व्यवस्था गरिने, करारको शिक्षक नियुक्ति गर्नको लागि नगरमा विशेषज्ञहरुको सूचीकृत गरिने र शिक्षकहरुको क्षमता अभिवृद्धिको कार्यक्रमहरु संचालन गरिने भएको छ ।

नगरका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव हुन नदिनको लागि नगरपालिकाले तह तथा विषयगत शिक्षकहरुको परीक्षा लिएर सूचीकृत गरी शिक्षक बैंकको व्यवस्था गर्ने गरिने भएको छ । थाहानगरमा रहेको एक मात्र बहुमुखी क्याम्पसलाई नियमित संचालन गर्नको लागि आवश्यक पहल गरिने भएको छ । २५ वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुगेका शिक्षकहरुलाई स्वच्छिक अवकाश लिन चाहेमा सम्मानसहित स्वच्छिक अवकास दिने व्यवस्थालाई निरन्तरता दिइने भएको छ ।

केही बाल विकास केन्द्रहरुलाई नमुनाको रुपमा विकास गरिने, मातृभाषामा अध्ययन गर्ने गराउने विद्यालय संचालन गर्न प्रदेश तथा संघीय सरकार समक्ष पहल गरिने र बाबुआमा नभएका विद्यार्थीहरुलाई वडा कार्यालयको सिफारिसमा छात्रवृत्ति दिने व्यवस्था मिलाइने भएको छ ।

थाहानगर क्षेत्रमा रहेका र नगरमा प्रभाव रहेका संचार माध्यमलाई स्थानीय सरकार लोक कल्याणकारी सन्देश उपलब्ध गराउने नीति लिइने छ । प्रत्येक चौमासिकमा जिल्लाका सञ्चारकर्मीहरुको सहभागितामा नगरपालिकाको शाखा प्रमुखहरुको सहभागितामा समिक्षा एवं पत्रकार सम्मेलनको आयोजना गरीने भएको छ ।

थाहानगर भित्रका विद्यालयहरुमा स्थानीय पहिचान सहितको (थाहा तथा रुदानेसंग सम्बन्धीत) स्थानीय पाठ्यक्रम लागु गरी पठनपाठनको व्यवस्था मिलाउन पहल गरिने भएको छ । शैक्षिक हबको रुपमा विकास गर्न सम्बन्धीत विज्ञहरुसंग परामर्श लिई सम्बन्धीत निकायहरुसंग समन्वय गरी विश्वविद्यालय स्थापनाको लागि पहल गरिने भएको छ ।

नगरभित्र रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुको भवन पुर्वाधार विकास गरिनुको साथै निःशुल्क औषधि वितरणलाई यथासिध्र सम्बन्धीत स्वास्थ्य केन्द्रहरुमा पु¥याइने भएको छ । घरबाट स्वास्थ्य चौकीमा हिँडेका तर बाटैमा सुत्केरी हुने महिलालाई समेत महिला स्वयंसेविकाको सिफारिसमा अस्पतालमा सुत्केरी हुँदा पाउने बराबरको सुविधा दिइने व्यवस्था गरिने भएको छ ।

सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको रिक्त दरबन्दी पूर्ति गरिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिश्रमिक यथावत गरिने भएको छ ।

५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको स्थिती सुधार गर्न र कुपोषण रहित बनाउन आवश्यक कार्यक्रम संचालन गरी क्रमशः वडाहरुलाई कुपोषण मुक्त वडा घोषणा गरिने र नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट अनलाईन रिपोटिङलाई व्यवस्थित गर्नको लागि नगरका सबै स्वास्थ्य संस्थामा इन्टरनेटको पहुँच विस्तार गरिने भएको छ ।

आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सबैको सहज, सुलभ र समान पहुँच स्थापित गरिनुको साथै थाहा नगपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुले आवश्यकता र क्षमताको आधारमा क्रमशः ल्याब सेवा शुरुवात गरिने भएको छ ।

प्रस्तावित १५ शैयाको अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाहरुको निः शुल्क ल्याब सेवालाई निरन्तरता दिनुको साथै प्रत्येक वडाबाट छनोट भएका परिवारको कार्यपालिकाले निर्णय गरी निःशुल्क स्वास्थ्य बीमाको लागि गैर सरकारी संस्थाको सहयोगमा ‘विपन्न नागरिक स्वास्थ्य बीमा’ कार्यक्रम संचालन गरिने भएको छ ।

संचालनमा रहेका एम्बुलेन्सहरुलाई कार्यविधि र मापदण्ड बनाई एकै मापदण्डबाट संचालन हुने व्यवस्था मिलाइनुको साथै कोरोना सम्बन्धी जनचेतना पचिालनको लागि विद्यालय र अन्य सार्वजनिक स्थानहरुमा मनोसामाजिक परामर्श केन्द्र संचालन गरिने भएको छ ।

थाहानगर भित्रका जात्रा, पर्व, महोत्सव, भाषा, संस्कृतिको जगेर्णा गर्नुको साथै साँस्कृतिक कार्यक्रम संचालन गरिने भएको छ ।

युवा जमातलाई खेलकुदको माध्यमबाट अनुसाशित बनाउन नगर क्षेत्रमा विभिन्न खेलको आयोजना गरिने, प्रत्येक वडामा गठन भएको वडा खेलकुद विकास समिति र नगरमा नगर खेलकुद विकास समितिलाई कार्यक्रम सहित क्रियाशील गराइने र नगर खेलकुद विकास समिति तथा वडा खेलकुद विकासले आयोजना गरी निर्णय गरेका खेलकुद र नगरको सिफारिसमा खेल खेल्न जाने खेलाडी बाहेकका अन्य क्लब वा समितिले खेलाइने खेलहरुमा नगरपालिकाले कुनै पनि अनुदान वा सहयोग नगर्ने भएको हो ।

वडा स्तरीय खेलकुदको आयोजना गरी नगर स्तरीय खेलाडी छनोट गरी विभिन्न खेल प्रतियोगितामा थाहा नगरपालिकाको तर्फबाट सहभागी हुने व्यवस्था मिलाईने, नगरभरीका विभिन्न युवा क्लब तथा समूहहरु नगर खेलकुद विकास समितिमा अनिवार्य दर्ता वा सूचीकृत गर्नुपर्ने, आगामी आर्थिक वर्षमा मेयर कप भलिबल प्रतियोगिता तथा राष्ट्रपति रनिङ शिल्ड र उपमेयर ब्याडमिन्टनको आयोजनालाई निरन्तरता दिइने भएको छ ।

महिला, जनजाति, अपांङ्ग, वृद्ध, दलितलगायतको मागमा आधारित कार्यक्रम संचालन गरिनुको साथै लक्षित वर्गको क्षमता विकास र आय आर्जनका कार्यक्रम संचालन गर्दा अनिवार्य व्यवशाय संचालन गर्नुपर्ने शर्त राखी स्वरोजगारका कार्यक्रमका रुपमा संचालन गरिने भएको छ ।

महिला हिंसा, बाल शोषण, बाल बिवाहलगायत सामाजिक कुरितीका विरुद्धका कार्यक्रम संचालन गरिने, बाल क्लब गठन, विद्यालय शिक्षा कार्यक्रम संचालन गर्ने र महिला, ज्येष्ठ नागरिक, अपांगलगायतका लक्षित वर्गको लागि एक्सरे मेशिन सहित घुम्ती स्वास्थ्य शिविर संचालन गरिने भएको छ । नगरलाई एक वर्षभित्र निकृष्ट बालश्रम मुक्त नगर घोषणा तथा दुर्ईवर्ष भित्र बाल विवाह मुक्त नगर घोषणा गरिने र नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्नका लागि संस्थागत तथा सेवा प्रवाहको सूचकमा आधारित भएर कार्यक्रम संचालन गरिने भएको छ ।

स्वास्थ्य

नागरिकको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनको लागि आर्थिक वर्षबाटै पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित १५ शैयाको अस्पतालको रुपमा संचालनमा ल्याइने भएको छ । नगरमै बसोबास गरिरहेका व्यक्ति कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनुपर्ने अवस्था आएमा प्रति परिवार एकलाख रुपियाँ सहयोग दिइने भएको छ ।

आधारभूत तथा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवाको सर्वव्यापी पहूँचलाई सुनिश्चिता गर्ने र त्यसको लागि स्थानीय तहभित्र रहेका महिला स्वास्थ्य स्वंयसेविका, खोप केन्द्र, गाउँघर क्लिनिक, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक अस्पताल, शहरी स्वास्थ्य केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्रबाट निर्वाध सेवाको यकिन गर्ने साथै निःशुल्क सेवाको लागि औषधी, औजार तथा जनशक्तीको सुनिश्चितता गरिने भएको छ ।

कुनै पनि नागरीकले आर्थिक अभावमा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित हुनपर्ने अवस्थालाई अन्त्य गर्न थाहा नगरपालिका र गैर सरकारीसंगको समन्वयमा निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । संविधानमा उल्लेखित “प्रजनन स्वास्थ्य महिलाको अधिकार“ लाई सुनिश्चित गर्न र मातृ मृत्यु र कुल प्रजनन दरको राष्ट्रिय लक्ष्य हासिलमा सहयोग पु¥याउन परिवार नियोजन, सुरक्षित मातृत्व सेवा लगायतमा परिवार नियोजनको साधनहरूको उपलब्धता, गर्भवती तथा सुत्केरी उत्प्रेरणा सेवा, प्रसूति कक्ष सहितको आकस्मिक सेवाको उपलब्धतालाई सुनिश्चित गरि आगामी ३ बर्ष भित्र घरमा सुन्य सुत्केरी नगर घोषणा गरिने भएको छ ।

दीगो विकास लक्षमा उल्लेख भए अनुसारका बाल मृत्यु तथा पोषण सम्बन्धी सूचक हासिल गर्न नियमित खोप कार्यक्रम, भिटामिन“ए“ वितरण कार्यक्रम, बाल्यकालिन पोषण कार्यक्रम, सूक्ष्म पोषकतत्व (बालभिटा) समुदाय प्रबर्धन कार्यक्रम, सुनौला १००० दिनका महिला तथा बालबालिका लक्षित पूर्ण पोषण कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरूलाई आइरन चक्की वितरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

इपिडेमिओलोजी, नियन्त्रण तथा प्राकृतिक प्रकोप ब्यवस्थापन कार्यक्रममा महामारीजन्य रोगको द्रूत सूचना प्रवाह गर्ने कार्यक्रमहरू, सर्ने तथा नसर्ने रोगहरुको नियन्त्रणका बिरामीहरूको विभिन्न परीक्षण गर्ने, हात्ती पाइले रोग निवारण कार्यक्रमको औषधी वितरण कार्यहरूलाई निरन्तरता दिइने भएको छ ।

मानसिक स्वास्थ्य र नसर्ने रोगहरूको निवारणको लागि जनचेतना तथा परीक्षण सरूवा रोगको उपचार तथा नियन्त्रण, निःशुल्क प्रयोगशाला सेवा तथा अन्य निरोधात्मक सेवाहरूलाई निरन्तरता दिइने भएको छ ।

स्थानीय जनताको स्वास्थ्य सेवामा फरक मागको एकिन गर्न, आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रर्वधन गर्दै र स्थानीयस्तरमा उपलब्ध जडिवुटी समेतको प्रर्वधन तथा सम्बर्धनको लागि स्थानीय जनतालाई जडिबुटी परिचयात्मक कार्यक्रम, विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम तर्जुमा गरिने र त्यसको लागि सरकारी तथा गैर सरकारी संघसंस्थासंग समन्वय गरिने भएको छ ।

स्वास्थ्य सेवा निर्वाध रूपमा सञ्चालन गर्न संघ, प्रदेश तथा जिल्ला समन्वय कार्यालयहरूसँग समन्वय गरी परिवार नियोजका साधन, विभिन्न खोप, अत्यावश्यक औषधी तथा औजारको उपलब्धतालाई ध्यानमा राखी योजना तर्जुमा गरिनुको साथै स्थानीय तह भित्र दिने सेवाको सुनिश्चिताको साथै विभिन्न सेवा जस्तै जटिलता युक्त प्रसूति, जटिल चिकित्सा, दूर्घटनाको समयको ट्रमा सेवाको र स्थानीयस्तरमा उपलब्ध हुन नसकेका सेवाको लागि प्रेषण प्रणालीलाई सुनिश्चित गरिने भएको छ ।

रोजगार

श्रम तथा रोजगार मन्त्रालयबाट गरिब परिचयपत्र वितरणको लागि तथ्याङ्क संकलन भइरहेकोमा उक्त कार्य समाप्तीपछि वितरण गरिने परिचयपत्रको आधारमा पहिचान गरिएका वर्गको उत्थानको निम्ती अनुदान तथा सहुलियतहरुलाई प्राथमिता दिइने नीति लिइने भएको छ ।

कोभिड–१९ को कारण वैदेशिक रोजगारबाट विस्थापित भएका थाहानगरका नागरिकहरुको लगत संकलन गरी देश भित्रै उद्यम गर्न प्रोत्सहित गरी थाहानगरमा स्वरोजगार सृजना हुने खालको कामका लागि सहयोग गर्ने नीति लिइने भएको छ ।

महिलाहरुलाई स्वरोजगार बनाउनको लागि मोबाइल मर्मत, कम्प्युटर प्रशिक्षण लगायतको स्वरोजगार मुलक तालिम दिइने र स्वरोजगार सेवा केन्द्र मार्फत नगरको मानवस्रोतलाई परिचालन गरी रोजगार बनाउनको लागि पहल गरिने भएको छ । नगरमा श्रम बैंकको स्थापना गरी मानव स्रोत परिचालन सम्बन्धी काम अघि बढाइनुको साथै श्रम बैंकमा अभिलेख भएका व्यक्तिहरुको सामुहिक बीमा गरी रोजगारसंगै जीवन रक्षामा नगरपालिका प्रतिवद्ध रहने जनाइएको छ ।

नगरमा विद्यालयहरु नजिकको सडकहरुको यसवर्ष अवस्था पहिचान मूल्याङ्कन गरी आगामी वर्षदेखि स्तरीकरण गरिने र पायक पर्ने विद्यालयहरुलाई केन्द्र विद्यालय तोकी विद्यालयलाई बस वा यातायातको साधन व्यवस्था गरी थोरै विद्यार्थी भएका स्कूललाई मर्ज गरिने भएको छ ।

थाहा नगरका माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षासंग सम्बन्धीत विषय अध्यापन प्रारम्भ गरिनुको साथै टिष्टुङको बागेश्वरी माविलाई कुनै एक प्राविधिक विषयको अध्यापन स्वीकृतीको लागि संघीय शिक्षा मन्त्रालयसंग अनुरोध गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*