मकवानपुरका ५ स्थानीय तहमा अस्पताल निर्माणका लागि भोलि शिलान्यास गरिने

बलराम पुडासैनी
२०७७ मंसिर १४,आईतवार ११:४६

मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लगानीमा मकवानपुरको थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा अस्पताल निर्माण गरिने भएको छ ।  थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शैयाको, कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० शैयाको र इन्द्रसरोवर गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माणका लागि भोलि मंसिर १५ गते शिलान्यास गरिने भएको हो ।

मनहरी गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पताल शिलान्यास गर्ने भएका छन् । मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै अस्पताल बनाइने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अस्पताल निर्माणको लागि ८५ लाख रुपैँया प्राप्त भइसकेको छ भने कूल १८ करोड ६ लाख ८२ हजार रुपैँया लागत अनुमान गरिएको छ ।

थाहा नगरपालिकामा मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले अस्पतालको शिलान्यास गर्ने भएको नगरपालिकाका प्रमुख लवशेर बिष्टले जानकारी दिएका छन् । उनका अनुसार थाहा नगरपालिका वडा नम्वर – ४ क्याम्पाडाँडामा अस्पताल निर्माण गरिने भएको हो । अस्पतालको लागि डिपिआर तयार भइसकेको र हप्तादिनभित्र टेन्डर आह्वान गरी आफ्नो कार्यकालभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्ने मेयर बिष्टले बताए ।

अस्पतालको लागि हाल १ करोड रुपैँया प्राप्त भइसकेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिएका छन् । उनका अनुसार अस्पताल निर्माणको लागि कूल १८ करोड ६ लाख ८२ हजार लागत अनुमान गरिएको छ ।

राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको लागि हाल ८५/८५ लाख रुपैँया बजेट मन्त्रालयले विनियोजन गरेको छ । दुबै गाउँपालिकामा १०/१० शैयाको अस्पताल निर्माण हुने र त्यसका लागि १० करोड ८३ लाख ३६ हजारका दरले लागत अनुमान गरिएको छ ।
खैराङ स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै अस्पताल निर्माण गरिने राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिएका छन् । राक्सिराङमै अस्पताल निर्माण भएपछि भौगोलिक रुपमा बिकट यस क्षेत्रका जनताको स्वास्थ्य सुविधामा पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी कालिकाटार स्वास्थ्य चोकीलाई स्तरोन्नती गर्दै अस्पतालको रुपमा विकास गरिने भएको कैलाश गाउँपालिकाले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा भने कुलेखानी स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरिने भएको छ । ५ शैयाको अस्पताल निर्माणका लागि हाल ७० लाख प्राप्त भइसकेको छ भने कूल ७ करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*