नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली
काठमाडौं । सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन ।
राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन सफल भइरहेको राजस्व अनुसन्धान विभागले विभिन्न पाँच कम्पनीले झुटा तथा नक्कली भ्याट बिल (मूल्य अभिवृद्धिकर) बनाएर ४१ करोड रुपैयाँ राजस्व छली गरेको पत्ता लगाएको छ । राजस्व अनुसन्धान विभागले ती कम्पनीविरुद्ध ४१ करोड ३ लाख रुपैयाँ र सोहीबमोजिमको बिगो तथा कैद सजायको मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
कोरोना भाइरस महामारीको मौका छोपी ती कम्पनीले विभिन्न तरिका अपनाएर राजस्व छली गर्दै आएका थिए । विभागका अनुसार नक्कली भ्याट बिल प्रकरणमा धनुषाको रघुनाथपुरस्थित रमण कन्सट्रक्सन प्रालि, उदयपुरको त्रियुगा नगरपालिका–१२ को राउत ट्रेड कन्सर्न, दोलखा तामाकोसी गाउँपालिकाको पीआर के ट्रेड इन्टरनेसनल, बाराको परवानीपुरस्थित मिनजा इन्टरनेसनल प्रालि र पर्सा बेलवाको क्रेटा इन्टरप्राइजेजविरुद्ध राजस्व छलीको मुद्दा दायर गरिएको हो । यसरी मुद्दा दायर गरिँदा राजस्व छली गर्नेहरूविरुद्ध कानुनअनुसार जरिमाना र कैद सजायको समेत माग गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा समाचार छ ।