‘सिर्जनाको प्रेरणा मेरो जन्मभूमि नेपाल हो’
मीनबहादुर बानियाँ, २०६० तिर पहल साप्ताहिकको प्रकाशन संस्था मिडिया हाउस मकवानपुरका अध्यक्ष थिए । उतिबेला सामाजिक संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय बानियाँ हाल बेलायतको लण्डनमा बस्छन् । जनप्रशासनमा डिग्री होल्डर बानियाँले मकवानपुरमा करीव २ दशक प्राध्यापन पेशा समेत अपनाए । सामाजिक संस्थामार्फत् मकवानपुरको विकासमा लामो समय योगदान दिएका बानियाँ लण्डन गएपछि आफ्नो प्रमुख रुचीको विषय साहित्य र गीत संगीतमा सक्रिय छन् । पछिल्लो पटक ‘आकाश पनि सानै लाग्छ, बोलको म्युजिक भिडियो सार्वजनिक भएपछि तु खबरले उनीसँग छोटो संवाद गरेको थियो ।
प्रस्तुत छ बानियाँसँगको कुराकानीको संक्षिप्त रुप :
प्रश्नः सामाजिक काममा सक्रिय तपाइ त गीत संगीततिर पनि लाग्नुभएछ नि ?
– हामी मानव मात्र नभएर सम्पूर्ण प्राणी जगत नै गीत संगीत प्रेमी हुन्छन् । म त साधारण मानिस, दुख र पीडा अनि मनमा उब्जिएका ज्वारभाटा शब्दमा पोखिनु स्वभाविक नै हो है न र ? त्यतिखेर समय अनुकुल नभएर मात्र हो मैले विद्यालय जीवनदेखिनै कलम चलाउँदै आएको हो । अनि गीत संगीत साहित्य मेरो रुचि पनि थियो । जीवन निर्वाह गर्ने क्रममा छाँयामा परेको मात्र हो । अहिले त्यही रहर पुरा गर्दै छु ।
प्रश्नः साहित्य र गीत संगीतको क्षेत्रमा क्रियाशील हुने प्रेरणाका स्रोतहरु के के हुन् ?
– वास्तवमा जब देश आफन्त छोडेर हामी अर्काको देश नयाँ परिवेशमा जान्छौँ अनि देशको सम्झना आउँछ । आफ्नाहरुको याद आउँछ । साथी भाई आफ्नो भाषा संस्कृति भेष भुसा सबैले कताकता चिमोटीरहेको हुँदो रहेछ । अनि कहिले नलेख्ने मन पनि पग्लिन थाल्छ । कोहि त्यो पिडालाई कवितामा, कोहि गीत संगीत, मुक्तक र अन्य साहित्यका माध्यमबाट भवाना पोख्न थाल्दा रहेछन । म पनि तेही वर्गमा पर्दछु । मेरो पनि यो सिर्जनाको प्रेरणा मेरो देश, माटो जन्मभूमि नै हो । अझ भन्नु पर्दा एक किसिमको कर्तव्य बोध पनि हो । यदि कुनै न कुनै माध्यमबाट नेपाली भाषा साहित्य कला र संस्कृतिको जगेर्ना नगर्ने हो भने हाम्रो भावी पुस्ताले नेपाल चिन्दैन । नेपाली चिन्दैन, भाषा कला संस्कृति लोप भएर जान्छ, यही कारण हो गीतको सहारा लिएको । विश्वको जुन कुनामा भए पनि नेपाली भनेर चिनिनुछ ।
प्रश्नः नेपाल चटक्कै छोडेर उता लण्डनतिर सर्नु भो, त्यसका कारणबारे हामी जान्न सक्छौँ ?
– खासमा हामी अवसरको खोजीमा भौतारीरहेका हुन्छौँ । नढाँटी भन्नुपर्दा राम्रो लाउने मिठो खाने, अनि गुणस्तरीय जीवनयापन जिजीविषले मानिसलाई हरपल सताइरहेको हुन्छ । म पनि यही अवसर खोज्दै लण्डन आइपुगेँ । अनि मेरो श्रीमती पनि यतै, परिवार यो सबै अवस्थाले लण्डन आएँ ।
प्रश्नः यता हुँदा सिंचाइका क्यानल बनाइदिने, नागरिकलाई खानेपानीको व्यवस्था मिलाइदिने लगायतका काम गर्नुहुन्थ्यो, ती सामाजिक कामहरुको याद आउँछ कि आउँदैन ?
– नेपाल रहँदा विशेष गरेर म पेशागत रुपमा एउटा शिक्षक हुँदाहुँदै पनि मकवानपुरे मित्रहरुको साथमा केहि सामाजिक जिम्मेवारी निर्वाह गर्ने अवसर पाएँ । मकवानपुरको बिकट गाउँहरु उकालीओराली मौका मिल्यो । आफुले ठुलो उल्लेखीय काम गर्न नसके पनि सानोतिनो कामले पनि मन खुशी हुन्छ । सायद त्यही कर्मको कारण आज पनि मैले मकवापुरसँग जोडिने अवसर पाएको छु । तपाईसँगको यो वार्तालाभ पनि त्यसैको उपज हो जस्तो लाग्छ । कहिलेकाँही मन दुखेका बेला त्यो कर्मको सम्झनाले मिठो निन्द्रा लाग्छ ।
प्रश्नः लण्डनतिर पनि सामाजिक कामहरुमा आवद्ध हुनुहुन्छ कि रु उता र यता नेपालतिर यस्ता काम गर्दाका अनुभव सुनाइदिनुस् न ।
– लण्डन आएपछि सुरुवाती दिनहरु निकै निरासाजनक रहे । मैले यहाँ सामाजिक संघ संस्था खोज्दै हिँडे । सहभागिता जनाउने कोशिस पनि गरेँ । संघ संस्थाहरु थुप्रै तर ती सबै कोहि जातजातिका कोहि गाउँ बेसीका अनि कोहि टोलवासीका मात्र भेटिए ।
सबै नेपालीलाई समेट्ने खालका सामाजिक संस्थानै थिएनन् । अर्को कुरा मैले यहाँ सुन्य लेभलबाट काम गर्नुपर्यो । एक्लो हुँदा र पारिवारिक जिम्मेवारी हुँदा मन हुँदाहुदै पनि आवस्यकता नै पहिलो बनिदिँदो रहेछ । अहिले म कोसेली समाज यु के र अयमभअ भन्ने सस्थाम्मा सभागी हुने गर्छु । नेपाल र यहाँ धेरै फरक छ । हामीले यँहा पनि नेपालकै लागि सहयोग जुटाउने काम गर्छौ ।
भिन्न कार्यक्रमको आयोजना गरेर सहयोग संकलन गर्ने काम सबैले गर्दै आएका छन् । म पनि अनुकुलता अनुसार सहभागी र सहयोग गर्दै आएको छु ।
प्रश्नः फेरी नेपाल आउने र नेपालीहरुका लागि केही गर्ने सोच वा योजना छन् कि छैनन् ?
– आफ्नो नाभि गाडेको भूमि, आफ्नो देश नआउने त कुरै भएन । तर यता परिवार, पेशा बच्चाको शिक्षा आदिले चट्टक्कै छोडेर आइहाल्ने अवस्था भने छैन । मनमा थुप्रै रहर केहि गरौँ भन्ने चाहना छ नै अब खान पुग्यो र दिन पुग्यो भने पक्कै पनि नेपाल र नेपालीको लागि खासगरी विपन्न वर्गको लागि सके एक्लै वा साथीभाई संघ संस्थासँग मिलेर केहि गर्ने इच्छा भने छ ।
प्रश्नः साहित्य र गीत संगीतको क्षेत्रमा आउँदा दिनहरुमा के कस्तो काम गर्ने योजना छन् ?
मैले थुप्रै गीत लेखेको छु । मेरो पहिलो एल्बम् अनुजमा ६ वटा गीत समावेश छन् । यसलाई बिस्तारै म्युजिक भिडियो बनाउँने सोचमा छु । दोस्रो आकाश र तेस्रो हालसालै बजारमा आएको अर्काको देशमा हो । केहि रेकडिङ् हुने क्रममा छन् । संगीत अति महंगो छ । म आगामी दिनमा मेरा गीतहरुको संगालो लाउने सोचमा छु । मैले गीतको माध्यमबाट भए पनि नेपाली भाषा र सँस्कृतिको लागि केहि गर्नुपर्छ भन्ने लागिरहेको छ ।
अन्तमा तपाई र तपाइको यो प्रकाशन समुहले मलाई मेरा मनका भावना राख्ने मौका दिनु भएकोमा आभार व्यक्त गर्दछु ।