कांग्रेस मकवानपुरले भोलि १०२ वटै वडाबाट बिरोध प्रदर्शन गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि संभा विघटन गरेको भन्दै वडास्तरबाट विरोध प्रदर्शन गर्ने भएको छ ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले भोलि ८ गते मकवानपुरको १०२ वटै वडाबाट सरकारको गलत कदमको विरोध गर्न लागिएको जानकारी दिएको छ ।
कार्यक्रमका विषयमा जानकारी दिँदै पार्टी प्रवक्ता प्रदिप कोइरालाले भोलि बिहान ११ बजे जिल्लाका सबै वडाहरुबाट एकैसाथ प्रदर्शन गरिने बताए । पार्टी मकवानपुरका पदाधिकारीहरु पनि विभिन्न वडामा जानेगरी कार्यक्रम तय गरिएको छ ।
विरोध प्रदर्शन हुने स्थान, समय र संयोजन गर्ने व्यक्ति समेत निर्धारण गरी ब्यानरसहितको विरोध प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको प्रवक्ता कोइरालाले बताए ।
कांग्रेस मकवानपुरका सभापति बिष्णु लामिछानेले केपी ओली नेतृत्वको सरकारले सर्वसत्ताबाद र अधिनायकबाद लाद्न खोजेको आरोप लगाए । प्रधानमन्त्रीले जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त संविधानमाथि नै ‘कु’ गर्ने प्रयास गरेको उनले बताए ।
कांग्रेसले यसअघि जिल्ला क्षेत्र र १० वटै पालिकाबाट विरोध प्रदर्शन गरिसकेको छ ।