बागमती प्रदेशसभाका सभामुख श्रेष्ठसहित दर्जन बढी सम्मानित
![](https://www.tukhabar.com/wp-content/uploads/2021/02/bagamati.jpg)
मकवानपुर । नेवाः गुठी खलः मकवानपुरले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको छ ।
शनिबार नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारणसभाको अवसरमा हेटौंडामा आयोजिक एक कार्यक्रममा नेपाल र नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पुर्याएको भन्दै सभामुख श्रेष्ठ, प्रदेश सांसद जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठलगायत सम्मान गरिएको हो ।
त्यस्तै, विभिन्न क्षेत्रमा विशिष्ट स्थान हाँसिल गरेका नेवारहरूलाई प्रसंशापत्र प्रदान गरिएको कार्यक्रममा ९० बर्ष नाघेका नेवार जेष्ठ नागरिकहरूलाई खादा ओडाएर अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गीको सभाध्यक्षता तथा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा मुख्यमन्त्री पौडेलले नेवारी भाषा, संस्कृति बिशिष्ट रहेकाले संरक्षण गर्न नेवार समुदाय सचेत हुनुपर्नेमा जोड दिए । शंखधर साख्वाःको प्रतिमा बनाउन प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको भन्दै उनले निर्माणाधिन शंखधर साख्वाः पार्कलाई विसुद्ध नेवार संस्कृतिमय बनाउनुपर्ने बताए ।
त्यस्तै, बागमती प्रदेशसभाका सभामुख श्रेष्ठले नेपालको अस्थित्वको लागि रञ्जना लिपि (नेवारी भाषा) र नेपाल सम्बतको महत्वपूर्ण योगदान रहेको भन्दै नेवारी भाषा, संस्कृति संरक्षण गर्न राज्य(सरकार)ले विशेष भुमिका खेल्नुपर्ने बताए ।
यसैगरी, प्रदेश सांसद श्रेष्ठले नेवार समुदायको विकासका लागि आफुले भुमिका खेल्ने भन्दै शंखधर साख्वाः पार्कलाई आकर्षक बनाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, नेवारी दोलखा भाषा विज्ञ एवं पत्रकार बालकृष्ण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।