कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गयो

काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट बेलायतमा दुई जना नेपालीको ज्यान गएको हो ।
कोरोना संक्रमणबाट शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको ज्यान गएको छ । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।
संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।