प्रदेश सरकारले पूर्वाधार निर्माणलाई तीब्रता दिएको छ– मन्त्री फुयाल
मकवानपुर । बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले बिगत ३ वर्षको अवधिमा प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा सडक, यातायात, सिचाँई, राजकुलोलगायत विभिन्न विकासको पूर्वाधार निर्माणलाई तीब्रता दिइएको बताएका छन् ।
मन्त्री फुयाँलले आइतबार बागमती प्रदेश एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको लागि प्रदेशको विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौता पत्रको हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रदेशको राजधानी हेटौँडालगायत संघीय राजधानी काठमाडौंको ढुङ्गेधाराको पुर्णनिमार्ण, सडकलाई कालोपत्रे गर्ने र तुहिनलाई विस्थापित गर्ने कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिईएको उल्लेख गरे ।
मन्त्री फुयालले बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले हालसम्म प्रदेशको १३ वटा जिल्लामा ८९० किलोमिटर सडकको निमार्ण, ४०५ कि.मि सडकमा गाभ्रेल र २१९ कि.मि सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।
त्यस्तै, प्रदेशको विभिन्न जिल्लामा हालसम्म ३३ वटा पक्की पुलको निमार्ण सम्पन्न गरिएको र अहिले काठमाडौ उपत्यका, मकवानपुरको थाहा नगरपालिका, ललितपुर र नुवाकोट जिल्लामा समेत गरी २४ वटा राजकुलोको निमार्ण कार्यलाई तीब्रता ल्याइएको पनि उनले स्पष्ट पारे ।
मन्त्री फुयालले प्रदेशको राजधानी हेटौँडामा एकतर्फी विकासको पूर्वाधारलाई मात्रै केन्द्रीत नगराई प्रदेशको १३ जिल्लालाई पनि समेटिनुपर्ने प्रदेश सरकारको जिम्मेवारी रहेको बताए ।
मन्त्री फूयालले पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र १५ को सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्गको निमार्णको लागि अन्तराष्ट्रिय स्तरको बोलपत्र आह्वान गरिसकेको र अब छिट्टै निमार्ण कार्य सुरु गरिने बताए ।
उनले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ्, चिलाङ्गमा गरी ऐतिहासिक ११ वटा ढुङ्गेधारा र उपत्यकाको ३ वटा गरी १४ वटा ढुङ्गेधाराहरुको प्रदेश सरकारले अहिले निमार्ण कार्यमा तिब्रता दिइरहेको बताए ।