हेटौँडाको जनप्रिय स्वास्थ्य क्लिनिकलाई १० हजार जरीवाना
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नमवर १५ चिसापानीमा अनुमति बिना संचालन गरिरहेको एक औषधी पसललाई शिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौँडा–१५ चिसापानीको जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो ।
उक्त औषधी पसललाई अनुगमनस्थलमा नै १० हजार रुपैयाँ जरीवानासमेत गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, हेटौँडा–१५ चिसापानी क्षेत्रमा संचालन गरिएका १५ वटा औषधी तथा खाद्यान्न पसलमा अनुगमन गर्दा कैफियत देखिएका पसलहरुलाई गल्ती सुधार गर्न सात दिनको समयसिमा दिइएको उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि बासु खतिवडाले जानकारी दिए ।
उक्त पसलहरुमा म्याद नाघेका खाद्यान्न सामाग्रीहरु फेला पारी जफत गरि नष्ट गरेको उनले बताए ।
उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।