रोकियो ‘गोल्डेन भ्वाइस’

पत्रपत्रिका
२०७८ बैशाख २४,शुक्रबार ०८:३७

काठमाडौं । रोकिन नि सक्छ मुटु सास चल्दाचल्दै
निभ्न सक्छ जिन्दगीको दियो बल्दाबल्दै

चलिरहेको सास कति बेला टक्क अडिन्छ रु बलिरहेको दियो कुन बेला निभ्छ रु जिन्दगीको अन्त्य कति बेला कहाँ हुन्छ रु कसैलाई थाहा हुन्न। ८३ वर्षीय गायक प्रेमध्वज प्रधानले यही आशयको गीत २७ दिनअघि रेकर्ड गरे। तर, यही गीत प्रधानको सम्भवतः अन्तिम गीत बन्न पुग्यो। जुन गीतमा पुरु लम्सालको शब्द, जोन शाहीको संगीत छ।

उनै प्रिय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको छ। नशासम्बन्धी समस्याबाट पीडित प्रधान १२ दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए। सुरुमा कोभिडको शंका गरिए पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो।

प्रधानले गाएका ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरू’, ‘यो नेपाली शिर उचाली’, ‘नमान लाज यसरी’, ‘देउरालीमा बतास चल्यो’, ‘गोरेटो त्यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ भेटूँ’,लगायत दर्जनौं गीत लोकप्रिय भएका छन्।

‘प्रेमध्वज प्रधानले मेरो गीत गाउनुहुन्छ भनेर सोचेकै थिइनँ’, गीतकार लम्साल स्मरण गर्छन्, ‘एउटा सांगीतिक कार्यक्रममा भेट हुँदा यो गीतको शब्दमा उहाँसँग कुरा भएको थियो। शब्द निकै मन परेको बताउनुभएको थियो।’

प्रधानले पछिल्लो गीत रेकर्ड भएपछि ‘बेला यस्तो छ, भिडियो बनाउन पाइन्छ पाइन्न’ भनेको लम्साल सुनाउँछन्। ‘उहाँले अहिले नै केही भिडियो र फोटा खिच भन्नुभो। सायद त्यही फोटो र भिडियोमा उहाँले अन्तिमपटक गीत गाइरहनुभएको छ’, उनी भन्छन्।
सिन्धुपाल्चोकको चौतारामा १९९४ सालमा जन्मिएका प्रधानले ‘गोल्डेन भ्वाइस अफ नेपाल’को पदवी पाएका थिए। प्रधान नेपाली तथा नेवारी सुगम संगीतका दरिलो खम्बा थिए। उनी अन्तिम अवस्थासम्म पनि गीत–संगीतमै सक्रिय रहे। गीत गाउनकै लागि जन्मिएको हुँ भन्ने प्रधान गीतका शब्दहरूमा भने ‘चुजी’ थिए।
जस्तो कि :
पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जून
बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू

गीतकार लम्सालसँग अर्को कुनै प्रेमसम्बन्धी गीत लेखिदिन आग्रह गरेका उनी स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएका थिए। तर, उक्त गीत गाउन नपाई उनी लाखौं संगीतप्रेमीलाई स्तब्ध तुल्याउँदै बह्मलीन भएका छन्।

प्रधानको मृत्युमा दुःख व्यक्त गर्दै गीतकार राजेन्द्र थापा छोटो कवितामार्फत भन्छन्, ‘प्रेमध्वज प्रधान यति बेला बह्मनालमा हुनुहुन्छ। चिता तयार हुँदै छ। चितामा कोही छिटो जान्छन्, कोही ढिलो। सायद चिता थोरै हुने कारण मानिसहरू पालो मिलाएर जान्छन्,। जान चै सबैले जान्छन्।’

साहित्यकार प्रकाश सायमी प्रधानको मृत्युले नेपाली सुगम संगीतको एउटा महान् युगको अन्त्य भएको बताउँछन्। संगीतकार राजुसिंह नेपाली संगीतको एउटा खम्बा भाचिएको भन्दै दुःख व्यक्त गर्छन्। प्रधान नेपालमै पहिलो पटक डिस रेकर्ड निकाल्ने गायक रहेको सिंहको भनाइ छ। प्रधानले नेपाली गीतलाई मुम्बईमा लगेर रेकर्ड गरी डिस रेकर्डको सुरुवात गरेका थिए। प्रधानले केही समय मुम्बईमै बसेर संगीतको ज्ञान हासिल गरेका थिए। भारतीय संगीतकार जयदेवका चेला पनि हुन् प्रधान। गायक प्रमोद खरेलका अनुसार नेपाली संगीत जगतमा अपुरणीय क्षति भएको छ।

स्वरका लागि अनुशासित र नयाँ पुस्ताका प्यारा थिए प्रधान। उनले भर्खरै सिक्दै गरेका पुस्तासँग निकै काम गरेका छन्। प्रधान भन्थे, ‘हामीले यसरी सिक्ने अवसर पाएनौं र दुःख भयो। तर, नेपाली संगीतलाई माया गर्ने र भविष्य खोज्नेहरूलाई हामीले सहयोग गर्नुपर्छ।’ उनी सांगीतिक कार्यक्रममा पुगेकै हुन्थे।

‘जिन्दगीले जता लान्छ तेतै बग्नुपर्ने रहेछ’ गीतमा काम गर्ने क्रममा आफूले प्रधानलाई नजिकबाट बुझ्ने मौका पाएको संगीतकार सिंह बताउँछन्। भन्छन्, ‘गीत–संगीतमा एक खालको प्यासन थियो उहाँमा। क्वालिटीको गीत गाउनुपर्छ। गीतले मानिसको मनलाई छुनुपर्छ भन्ने प्रधान चित्त नबुझेसम्म गीतमा मेहनत गरिरहनुहुन्थ्यो।’

प्रधान नेपाली संगीतका मुधन्य सष्टा हुन्। उनी आफ्नो सांगीतिक जीवनको विश्वविद्यालय भएको सिंह सुनाउँछन्। प्रधानको सांगीतिक उचाइ शब्दमा बताउनै नसक्ने उनको भनाइ छ।
सुगम संगीत, राष्ट्रभक्तिका गीत, नेपाल भाषाका गीतलगायत थुप्रै गीतमा स्वर भरेका प्रधान पछिल्लो समय आफ्ना राम्रा गीत ‘रिमेक’ गर्न व्यस्त थिए। उनी वर्षौंअघि गाएका गीत अहिलेको पुस्ताले मन पराउने बनाउन लागिपरेका थिए।

प्रधानको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कोरोना संक्रमणको त्रासमा सीमित व्यक्तिको उपस्थिति थियो। आफन्तसहित सहरी विकासमन्त्री रामवीर मानन्धर, संगीतकार टीका भण्डारी, पारस मुकारुङ, शम्भुजित बाँस्कोटालगायत सष्टाहरू आर्यघाट पुगेका थिए। प्रधानको पार्थिव शरीरमा मन्त्री मानन्धरले नेपालको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। प्रधानका दुई छोरा अमेरिकामा बस्दै आएका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*