भीमफेदीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम

तु खबर संवाददाता
२०७८ असार १७,बिहीबार ०९:४७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सुत्केरी महिला लक्षित ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकामा यसअघि गर्भवती तथा सुत्केरीलक्षित कार्यक्रम सञ्चालन गरिदै आएकोमा आगामी आर्थिक वर्षमा पालिकाका उपाध्यक्षसँग सुत्केरीको प्रत्यक्ष सम्पर्क गरी सहयोगका लागि थप कार्यक्रम सञ्चालनको तयारी गरिएको हो।

पालिका उपाध्यक्ष पार्वती रानाका अनुसार सुत्केरीको घरमा पुगेर खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सहयोग गर्न कार्यक्रमको तयारी गरिएको हो ।

कार्यक्रम पालिकाका ९ वटै वडाका सुत्केरीलाई भेट गर्ने अवसरका रुपमा मात्र नभएर सुत्केरीलाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने, आवश्यक हेर चाह गर्नुपर्ने सन्देशसमेतको भएको उपाध्यक्ष रानाको भनाइ छ।

‘पालिकामा कम्तिमा डेढ सय गर्भवती हुनसक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै’ उपाध्यक्ष रानाले भनिन्– ‘घरपरिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह, सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह गर्नेछौं।’

मातृशिशु स्याहार कार्यक्रम अन्तर्गत् राज्यले दिदै आएको रकममा थप २ हजार प्रोत्साहनस्वरुप प्रदान गर्दै आएको पालिकाले दोस्रो वर्षदेखि ‘घरघरमा
झण्डा, सुत्केरीलाई अण्डा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमअन्तर्गत् पालिकाका गर्भवतीको घरमा झण्डा राखेर गर्भवतीको प्रमाण दिइँदै आइएको उपाध्यक्ष रानाले बताइन् । ‘घरमा झण्डा राखिएपछि गर्भवती पहिचान भएर आवश्यक सहयोग गर्न सजिलो हुने गरेको छ, ’ उनले भनिन् – ‘स्वास्थ्य संस्थामा नियमित चेकका लागि आउने गर्भवतीलाई अण्डा प्रदान गर्ने कार्य जारी छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*