बागमती सरकार पुनर्गठन हुन्छ – अष्टलक्ष्मी शाक्य, नेतृ नेकपा एमाले
मकवानपुर । केपी ओली नेतृत्वको सरकारले २ पटकसम्म असंवैधानिक रुपमा गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनः स्थापना गरिदिएको छ । अर्थात संविधान र लोकतन्त्रको रक्षा गरेको छ । साथै अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको समर्थनमा संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि मुलुकले कांग्रेस र माओवादीको नेतृत्वमा नयाँ सरकार पाएको छ ।
प्रतिगमनविरुद्ध एकजुट भएको जसपाको उपेन्द्र यादव पक्ष, नेकपा एमालेको बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र अन्य दलले प्रतिगमनकारी ओलीको दुखद बर्हिगमन र संविधानको रक्षा भएको भन्दै सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा जसपाको एउटा पक्ष र राष्ट्रिय जनमोर्चा पनि सरकारमा जाने संभावना देखिन्छ । ओलीको प्रतिगनमकाविरुद्ध एकजुट भएका दलसंगको सहकार्य गर्दै आएको एमालेको माधव नेपाल पक्ष सरकारमा जान्छ वा जाँदैन अहिले नै भन्न सकिने अवस्था छैन । तर, यदि माधव नेपाल पक्षले आगामी दिनमा समेत विपक्षी गठबन्धनलाई नै साथ दिइरहे प्रदेश सरकारमा पनि यसको तरङग पैदा हुने देखिन्छ ।
बागमती प्रदेशमा स्पष्ट बहुमतमा रहेको नेकपा एमालेको सरकार टिकाउने/नटिकाउने माधव पक्षको हातमा छ । अब के होला ?, बागमती प्रदेशमा माधव पक्षले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई यथावत राख्छ वा विपक्षी गठबन्धनमै रहेर सरकार पुनर्गठन गर्छ ? तु खबरले यसै सन्दर्भमा आधारित भएर नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी सदस्य अष्टलक्ष्मी शाक्यसंग विशेष कुराकानी गरेको छ ।
प्रस्तुत छ, शाक्यसंग गरिएको संक्षिप्त कुराकानी ।
प्रश्न : सर्वोच्चको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ । तपाइहरुले त आफ्नै दललाई धोका दिएर विपक्षीलाई सरकारमा पुर्याउनु भयो नी, अब एमाले राजनीतिले कस्तो मोड लिन्छ ?
उत्तर : प्रश्नको लागि धन्यवाद । सर्वप्रथम त, सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनः स्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशले संविधान, लोकतन्त्र र संसदीय मर्यादालाई जोगाएर विधिको शासन लागू गरेको छ । यो अवस्थामा नेकपा एमाले अध्यक्ष केपी ओलीले दम्भ देखाएर मै हुँ भन्दै संविधानमाथि नै हस्तक्षप गर्नु नाजायज भएकोले सर्वोच्च अदालतले त्यसलाई सच्याउनु स्वागतयोग्य ठान्दछु ।
केपी ओलीको सो कदम संविधान र लोकतन्त्र सिध्याउनेतर्फ थियो, सर्वोच्चले त्यसलाई रोकेर एउटा सन्देश प्रवाह गरेको छ । वर्तमान परिस्थितिमा तत्काल हामीले संविधान बचाउँन विपक्षी गठबन्धनलाई सघाउनुपर्ने बाध्यात्मक अवस्था सृजना हुन गएकै हो । सोही अनुसार संविधानको रक्षाको लागि हामीले आफ्नै पार्टी नेकपा एमालेविरुद्ध जानुपर्ने परिस्थिति बन्यो । हाम्रो उदेश्य संविधान विपरित विधि मिचेर जानेलाई रोक्नु थियो । हामी सफल भयौँ, नेपाली जनता सफल भए । केपी ओलीको दुखद बर्हिगमन भयो ।
अब यस्तो छ, सरकारमा जाने वा नजाने भन्ने विषय पार्टीको केन्दीय कमिटीले टुंगो लगाउने विषय हो । पार्टी कसरी चल्छ, पार्टी एकता के हुन्छ भन्ने चासो सबैमा छ । हामी त पार्टी एकतौ पक्षमा छौँ । नेकपा एमाले हामी सबैको नेपाली जनताको बलिदानबाट बनेको पार्टी हो । एकता जोगिन्छ, हामी त्यसको पक्षमा छौँ । विगतका घटनाक्रम हेर्ने हो भनेपनि हामीले पार्टी एकताको लागि ठूलो त्याग तपस्या गरेका छौँ । केपी ओलीले हामीलाई बाहिर राख्न खोजेका थिए तर त्यो संभव देखिएन । हामीले संयमतापूर्वक लचकता अपनाएर पार्टी एकताको लागि एउटा सन्देश प्रवाह गरेका छौँ । सोही अनुसार आगामी रणनीतिहरु निर्धारण हुँदै जानेछ ।
प्रश्नः अब एमाले अध्यक्ष ओलीले तपाईहरुलाई समेटेर पार्टी एकता गर्नुहुन्छ त ?
उत्तर : हामीले पार्टी नेतृत्वको सरकार सिस्टममा नभएकाले विपक्षी गठबन्धनलाई सघाउनु परेको हो । मैले अघि पनि भने संविधानको रक्षा गर्नु आम नेपालीको कर्तव्य हो । विधि र विधान अनुसार शासनसत्ता चलाउनुपर्छ । इतिहाँस साक्षी छ, विधि र विधान नमान्ने कुनै पनि शासन र शासक आजसम्म जनतामाझ टिकेको उदाहरण छैन ।
केपी ओलीले पनि सत्ताबाट उन्मत्त भई विधि र विधान मिचेका थिए । त्यसैको प्रतिफल स्वरुप दुई तिहाइको सरकार आज ढल्यो ।
तत्काल पार्टी एकतामा केही समस्या देखा पर्छ । हामी संयमता अपनाएर अघि बढीरहेका छौँ । नेकपा एमाले केपी ओलीको पेवा होइन । हामी सबैको बलिदानीबाट प्राप्त भएको संगठन हो । केपी ओलीले मान्दिन भन्न पाउनुहुन्न अन्य नेताहरु पनि हुनुहुन्छ । हामी पहल गछौँ । समय लाग्ला तर एकता हुनुपर्छ । केपी ओलीलाई अर्को विकल्प छैन । यदी केपी ओलीले एकता मान्दिन भन्ने हो भने हामी पार्टी भित्र अन्तरसंघर्ष गरिरहेका छौं, गरिरहने छौँ ।
प्रश्न : बागमती प्रदेशमा डोरमणि पौडेलसंग १० मतले पराजित भएकोले मुख्यमन्त्री बन्न पाउनुभएन । अब प्रदेशमा तपाईले चान्स पाउनुहुन्छ त ?
उत्तर : बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । नेकपा एमालेका हरेक सांसद्हरुले प्रदेश सरकार जोगाउन संयमतापूर्वक आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहनुभएको छ । केही समयअघि केन्द्रको राजनीतिले केही समस्या पुर्याएको थियो । त्यसको असर आजसम्म पनि कायम छ । नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश सरकार जोगाउन निकै ठूलो भूमिका खेलेको हामीमाझ प्रष्ट छ ।
सरकारलाई जनउत्तरदायी बनाउन हामी सक्रिय थियौँ र छौँ । सरकार जोगाउन लचकता अपनाउँदै गर्दा कारबाही र स्पष्टिकरण पनि नभोगेका होइनौँ । तर पनि हामी संघर्षबाट भागेनौँ । सरकार जोगाउनकै लागि समस्याकाबीच पनि हामीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक बर्षको बजेट पास गरेका छौँ । यो नै एकताको सुरुवात हो ।
प्रदेश सरकार नेतृत्वको विषयमा हामी गम्भीर छलफलमा छौँ । नेतृत्व पुर्नगठन हुन्छ र हुनुपर्छ यो वर्तमान समयको माग पनि हो । जनताको हितका लागि सरकारको नेतृत्व र मन्त्रीहरु फेरबदल हुन जरुरी देखिन्छ ।
सोही अनुसार हामी पार्टी केन्द्र र प्रदेशस्तरमा छलफल गर्छौँ । रह्यो कुरा मुख्यमन्त्री को बन्ने ? भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन । पुरानो मत हेर्ने हो भने संसदीय दलको नेताका लागि मुख्यमन्त्री डोरमणि पौडेलले मलाई पराजित गर्नुभएको हो । तर, सबै परिस्थिति र आवश्यकतालाई बुझेर चल्न जरुरी भएकोले सरकार पुनर्गठन हुनु आवश्यक हो । मुख्यमन्त्रीमा मैले चान्स पाउँछु /पाउँदिन भन्ने कुरा पार्टीको केन्द्रीय निर्देशन अनुसार हुन्छ । त्यसैलाई आधार मानेर हामी छलफल गर्छौँ । छलफलबाट आएको निष्कर्ष अनुसार हामी अघि बढ्छौँ ।
प्रश्न : बागमती प्रदेशमा विपक्षी गठबन्धनको सरकार चाँही बन्छ कि बन्दैन विपक्षी गठबन्धनको सरकार बनाउन तपाईहरुको भूमिका रहन्छ कि रहँदैन ?
उत्तर : संविधान र लोकतन्त्रको रक्षाको लागि केन्द्रमा केपी ओलीको विरोध गरेका हौँ । सोही विरोधका कारण हामी विपक्षी गठबन्धनसंग मिलेर सरकार ढलाउनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । प्रदेशको हकमा सरकारले त्यस्तो विधि मिचेको जस्तो मलाई लाग्दैन । केही आन्तरिक समस्याका कारण विवाद कायमै छ । त्यो छलफलबाट सुल्झिन्छ भन्ने हामी सबैको विश्वास छ ।
बागमती प्रदेशको सरकार जोगाउन हामीले के–के योगदान गरेका छौँ त्यो आम जनतामाझ सर्वविदितै छ । त्यसैले सरकार जोगाउन हामी अन्तिमसंग प्रयासरत हुनेछौँ ।
आन्तरिक रुपमा नेकपा एमाले भित्रकै सरकार पुनर्गठनको विषयमा हामी छलफल गर्छौँ । त्यो जरुरी पनि छ । प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउने र सरकार गठनको वातावरण बनाउने भन्ने बारे मैले यसै भन्न सक्दिन । केन्द्रको नीति के आउँछ, कसरी अगाडि बढ्ने भन्ने निर्देशन हुन्छ । के गर्दा पार्टी र समग्र जनताको हित हुन्छ । हामी सोही अनुसार गछौँ ।