बागमती सरकारद्वारा हेटौँडाका एकसहित तीन बृहत विद्यालय छनोट

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको तीन वटा सामुदायिक विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्न छनोट गरेको छ ।
संघीय सरकारले प्रत्येक प्रदेशका ३ विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्ने नीतिअन्तर्गत प्रदेश सरकारले प्रदेशको तीन वटा विद्यालय छनोट गरेको हो ।
सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ मावि, सिन्धुलीको गौमती मावि र सिन्धुपाल्चोकको थाङपाल भ्याली माविलाई बृहत विद्यालयका रुपमा स्थापना गर्न छनोट गरेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशकी अधिकृत शारदाकुमारी मैनालीले जानकारी दिइन् ।
उनका अनुसार, प्रदेश सरकारले आधारभूत तथा प्राथमिक तहका सामुदायिक विद्यालय ‘मर्ज’ गरेर बृहत् विद्यालय स्थापना गर्न लागेको हो ।
२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई मात्र यस कार्यक्रममा छनोट गरिएको छ । यस वर्षदेखि बृहत् विद्यालय व्यवस्थापनको प्रारम्भिक कार्य अगाडि बढाइने निर्देशनालयले जनाएको छ ।