काठमाडौ उपत्यकामा १० दिन लम्बियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
उक्त अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/गराउन नपाइने, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदी गर्न/ गराउन नपाइने, पूजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने भएको हो ।
त्यस्तै शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यूसन सेन्टर, कोचिङ्ग सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने गरी निर्णय भएको हो ।