सामाजिक विकासमन्त्री बस्नेतद्वारा क्षेत्रिय कारागार र बालसुधारगृह निरीक्षण

तु खबर संवाददाता
२०७८ श्रावण १६,शनिबार ०७:५९

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले मकवानपुरको भीमफेदीस्थित क्षेत्रिय कारागारका कोरोनाभाइरस (कोभिड–१९) सक्रमित बिरामीहरुको उपचार र स्वास्थ्य अवस्थाबारे निरीक्षण गरेकी छन् ।

मन्त्री बस्नेतले भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित उक्त कारागार र बालसुधार गृहमा कोभिड संक्रमण पुष्टि भएका बिरामीहरुको उपचार र स्वास्थ्य अवस्थाबारे शुक्रबार निरीक्षण गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

भीमफेदी क्षेत्रिय कारागारमा रहेका कूल ९७७ जना कैदीबन्दीहरुको कोभिड परीक्षण गर्दा ३५५ जना र बालसुधार गृहका २८ जना बालबालिकाहरुको कोभिड परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले जानकारी दिईन् । उनका अनुसार, बिहिबार र शुक्रबार गरिएको कोभिड परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा कोभिडको कुनै पनि लक्षण फेला नपरेको उपप्रमुख रानाले बताइन् । संक्रमण पुष्टि भएका ती कैदीबन्दी र बालबालिकाहरुलाई गाउँपालिकाद्वारा संचालित आइसोलेशनका छुट्टाछुट्टै कक्षमा राखिएको छ ।

निरीक्षणको क्रममा सामाजिक विकासमन्त्री बस्नेतले कोभिडबाट संक्रमित बिरामीहरुका उपचारको लागि बागमती प्रदेश सरकारले आफ्नो स्रोतसाधन परिचालन र निरन्तर चिकित्सक उपचार सेवालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताइन् ।

सो क्रममा मन्त्री बस्नेतले प्रदेश सरकारबाट उपलब्ध गराएको औषधी मास्क, सेनिटाइजर, थर्मगन (थर्ममिटर)लगायत स्वास्थय सामाग्र भीमफेदी क्षेत्रिय कारागारका प्रमुख नारायणप्रसाद पाण्डेलाई हस्तान्तर गरेका छन् ।