यी चार जना प्रवेश गरे भ्वाइस अफ नेपालको फाइनलमा

तु खबर संवाददाता
२०७८ श्रावण १६,शनिबार ०९:५९

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनल आगामी शनिबार हुने भएको छ । शुक्रबार चार उत्कृष्ट प्रतिभाहरु छानिएसँगै भ्वाइस अफ नेपालका कार्यक्रम संचालक सुशील नेपालले आगामी शनिबार फाइनल हुने जानकारी गराएका हुन् ।

शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक/एक जना प्रतिभाहरु फाइनलमा प्रवेश गरेका छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ ।

यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् भने बुटबलका गोविन्द पुनको भ्वाइसको यात्रा टप ८ सम्म पुगेर टुंगिएको छ । टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् भने काठमाडौका सोनाम शेर्पाको भ्वइसको यात्रा टुंगिएको छ ।

यस्तै, टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । ज्वालाले अफ्रिता खड्कीलाई उछिन्दै फाइनलमा प्रवेश गरेका हुन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।

आज शनिवारको एपिसोडमा फाइनलमा प्रवेश गरेका यी चारै जनाले भोटका लागि आ–आफ्नो प्रस्तुती दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।