मेलम्ची खोलामा आएको बाढीले गएराति ७ घर बगायो

तु खबर संवाददाता
२०७८ श्रावण १९,मंगलवार ०९:३०
file-photo

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले गएराति मेलम्ची–११ का ७ घर बगाएको छ । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ घर र पुरानो बजारको एक घर बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, यसअघि नै बाढीले कटान गरेका घरहरू सोमबार राति बगाएको हो ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा पारेको छ ।

गत असार १ गते अबिरल वर्षाका कारण आएको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ प्रहरीले जनाएको छ ।