बागमती प्रदेशमा ‘छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम’ लाई निरन्तरता

तु खबर संवाददाता
२०७८ श्रावण २१,बिहीबार ०९:२९

मकवानपुर । बागमती प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तारता दिएको छ । प्राविधिक शिक्षामा महिलाहरुको पहुँच बढाउन प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले जानकारी दिइन् ।

उनका अनुसा छोरी–बुहारी छात्रवृत्ति अन्तर्गत गत आर्थिक वर्ष २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेका छन् । ५ सय जनाको कोटा रहेको उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत जम्मा १८६ जना मात्रै छोरी–बुहारी छनोट भएका हुन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ३३५ जनाको कोटा रहेकामा प्रदेशमा स्नातक तहको विज्ञान विषय बाहेक ५ सय वटा आवेदन परेको थियो । जसमध्ये १७६ जनाले प्रतिव्यक्ति १९ हजारका दरले छात्रवृत्ति प्राप्त गरेका थिए ।

छात्रवृत्ति प्राप्त गर्नेमा सबैभन्दा बढी मकवानपुर जिल्लाका रहेका छन् । मकवानपुरका १२४ जनाले छोरी–बुहारी छात्रवृत्ति प्राप्त गरेका हुन् ।
यसैगरी सिन्धुलीका १, चितवनका २, दोलखाका ११, ललितपुरका ११, काठमाडौंका ८, सिन्धुपाल्चोकका ८, काभ्रेका १३ र धादिङका ९ जनाले छोरी–बुहारीले छात्रवृत्ति प्राप्त गरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

त्यस्तै, स्तानक तहको विज्ञान विषय अन्तर्गत छात्रवृत्तिमा ६ जनाले ४० हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् । जसमा ६४ वटा कोटामा २० जनाको आवेदन परेकोमा ६ जना छनोट भएका थिए।

यसैगरी, स्नातक प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत ४ जनाको कोटामा ४ जनाकै आवेदनमा ४ जना छनोट भएका थिए । उक्त विषयमा अध्ययन गर्नका लागि १ लाख ७६ हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन् ।

गत आर्थिक वर्षमा छोरी–बुहारी छात्रवृत्तिका लागि सामाजिक विकास मन्त्रालयले १ करोड २५ लाख बजेट विनियोजित गरेको थियो ।