उच्च अदालत पाटन हेटौंडा इजलाशको प्रगति लक्ष्यभन्दा ३० प्रतिशत कम

तु खबर संवाददाता
२०७८ भाद्र १,मंगलवार ०९:५६

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ३० प्रतिशत कम प्रगति हासिल गरेको छ ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उच्च अदालत हेटौंडा इजलाशले आफ्नो कार्य सम्पादन प्रगतिबारे जानकारी दिएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ८७. ९६ प्रतिशत मुद्दा फट्र्यौटको लक्ष्य लिएको हेटौंडा इजलाशले ५८.१६ प्रतिशत मात्रै प्रगति हासिल गरेको हो । इजालशले गत आर्थिक वर्षमा ८ सय २६ वटा मुद्दाको फछ्र्यौट गरेको छ ।

इजलाशले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९ सय ३९ वटा मुद्दाहरु फछ्यौट गर्ने लक्ष्य लिएको थियो ।

इजलाशका रजिष्ट्रार कैलाश भट्टराइले गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका ४ सय ८ वटा र नयाँ दर्ता भएका १ हजार ३७ वटा गरी कुल १ हजार ४ य ४५ वटा मुद्दामध्ये ८ सय २६ वटा मुद्दा फछ्र्यौट गरेको जानकारी दिए ।

त्यस्तै, ६ सय १९ वटा मुद्दाहरु भने फछ्र्यौट हुन बाँकी रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा १ हजार ६१ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको भएपनि अनुमान भन्दा कम मुद्दा दर्ता भएको छ ।

चितवन र मकवानपुर जिल्ला हेर्ने जिम्मेवारी पाएको उक्त इजलाशले गत आर्थिक वर्षमा १ हजार ३७ वटा नयाँ मुद्दाहरु दर्ता भएको उनले बताए ।

त्यस्तै, इजलाशमा दर्ता भएर १८ महिना देखि २ वर्षसम्म समय अवधि पुगेका २६ वटा मुद्दा रहेको र आगामी असोजसम्ममा ती सबै मुद्दाको किनारा लगाइ सक्ने रजिष्ट्रार भट्टराइले बताए ।

सर्वेच्च अदालतबाट प्राप्त निर्देशन अनुसार गत साउन १५ गतेबाट नियमित रुपमा खुल्ला गरी इजलाश पूर्ण रुपमा संचालन भइरहेको उनले बताए ।