बागमती प्रदेश सरकारले थप चार वटा कार्यालय विस्तार गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरग थप ४ वटा कार्यालयहरु विस्तार गर्ने गरेको छ ।
प्रदेशमा वन मन्त्रालय अन्तरगतको बाढीपहिरो नियन्त्रणका लागि ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकासको काम गर्दै आएको पर्यटन विकास आयोजना उपशाखा गरी ४ वटा कार्यालय विस्तार गर्ने भएको हो ।
बाढी, पहिरोको नियन्त्रण गर्नका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोट जिल्लामा कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।
यसअघि बागमती प्रदेशका सिन्धुपाल्चोक र ललितपुरमा गरी २ वटा मात्र भू तथा जलाधार संरक्षण कार्यालय संचालनमा रहेका थिए ।
यसैगरी प्रदेश सरकारले काठमाडौंमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको छ ।
प्रदेशको राजधानी हेटौंडामा मुख्य कार्यालय रहेकाले प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिन आउने नागरिकहरुको गुनासो बढेकाले सेवा प्रवाहलाई सहज बनाउनका लागि काठमाण्डौ पर्यटन आयोजना उपशाखाको रुपमा स्थापना गर्ने निर्णय भएको सूचना अधिकारी पुडासैनीले बताए ।