कोरोना संक्रमणका कारण बन्द हेटौंडाका सिनेमा हल अशोज १ देखि खुल्ने
मकवानपुर । कोरोना महामारीका कारण बन्द रहेका हेटौंडाका सिनेमा हल, दोहोरी साँझ तथा पिकनिकस्थल खुल्ला हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बन्द रहेका हल, दोहोरी साँझ, पिकनिकस्थल खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासनले आगामी असोज १ गतेदेखि सबै प्रकारका व्यवसायहरु संचालन गर्न अनुमति दिएसँगै हेटौंडाका सिनेमा हल खुल्ला हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १ गतेदेखि नियमित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सबै प्रकारका व्यवसाय संचालन गर्न पाउने जानकारी गराएको हो । प्रशासनले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै व्यवसाय संचालन गर्न दिइएको थियो । अब भने २४ औं घण्टा संचालन गर्न पाइने भएको हो ।खुल्ला गर्न भने सम्बन्धित संचालकले आवश्यक पूर्व तयारीका विधि एवम् मापदण्ड तयार गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गर्ने र सो पश्चात मात्र संचालन गर्ने व्यवस्था रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले जानकारी दिए । विद्यालयको हकमा भने भौतिक उपस्थिति गराउन अभिभावक र विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धीत स्थानीय तहले स्वीकृत प्रदान गरी संचालन गरिनुपर्ने प्रजिअ पाण्डेले बताए ।
प्रशासनले कोभिड संकट व्यवस्थापन अध्यादेश, २०२८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञाको समय भने असोज १५ गतेसम्म लम्ब्याइएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी लब्याइएको प्रजिअ पाण्डेले बताए । प्रशासनले चाडपर्वहरु जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा मनाउन दिने निर्णय गरेको छ भने धार्मिक प्रतिष्ठानहरुमा धार्मिक, सांस्कृतिक र सामाजिकलगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप संचालन गर्न अनुमति नदिएको जनाइएको छ । कोरोना संक्रमणको अवस्था विस्तारै घट्न थालेपछि प्रशासनले एकपछि अर्को क्षेत्रलाई खुला तथा खुकुलो बनाउने क्रम जारी छ । यद्यपी अहिले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले नागरिकलाई सचेत हुन आग्रह हुँदै आएको छ ।