क–कसले पाउने भए प्रेस काउन्सिलको पुरस्कार ?

काठमाडौँ । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरु र यस बर्ष पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरिएको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’लाई प्रदान गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा संचार माध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाइएको छ । काउन्सिलका पूर्वअध्यक्ष स्व.गोपालदास श्रेष्ठको नाममा स्थापित एक लाख ५१ हजार रुपैयाँ राशीको ‘गोपालदास पत्रकारिता पुरस्कार’ तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा २०७२ सालमा स्थापित ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकका उज्जल शर्माले पाउने भएका छन् भने प्रेस काउन्सिल सशक्त संचारकर्मी पुरस्कार विमल गौतम र दुर्गालाल केसी, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार लक्की चौधरीले पाउने भएका हुन् । प्रेस काउन्सिल ‘क्रियाशिल पत्रकारिता पुरस्कार’ माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, वासुदेव शर्मा ‘बबिन’, सुशील अर्याल र रमेश ढुंगेलले प्राप्त गरेका छन् ।
‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ भने घनश्याम खड्का, उर्वशी बस्नेत, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, भगवती थापा र शिवकुमार रिजालले पाउने भएका हुन् । काउन्सिलको स्थापना दिवसको दिन पारेर सो पुरस्कार वितरण गरिने बताइएको छ ।