प्रचण्ड र नेपाल षडयन्त्रकारी हुन् –एमाले अध्यक्ष ओली

तु खबर संवाददाता
२०७८ आश्विन १५,शुक्रबार १५:१७
फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु नेतृत्वको सरकार ढाल्न घेराउ, मोर्चाबन्दी र अवरोध गरेको आरोप लगाएका छन् । एमाले विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफु सरकारको नेतृत्वमा हुँदा नेता नेपाल र प्रचण्डले षडयन्त्र गरेको आरोप लगाए ।

२०७२ सालमा सरकार ढाल्नेहरुले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय भएको उनको भनाई छ । अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए । ‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिइ विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए, जसले ७४ पछि मेरो नेतृत्वको असफल बनाउन उसैगरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे’, सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।

‘आफैले प्रस्ताव गरेको आफ्नो पार्टी सम्मिलित सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको सरकारलाई ढाल्न प्रचण्डद्वारा अविश्वासको प्रस्ताव पेश गरियो । यो षडयन्त्र प्रचण्ड लगायतका नेताहरुभित्र निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्दा दृश्य थियो’, ओलीको भनाई छ ।