विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने बागमती सरकारको तयारी

तु खबर संवाददाता
२०७८ आश्विन १६,शनिबार १०:०६
file-photo

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । बोर्डले २०७७ चैत्र १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी थालेको हो ।

बोर्डका निर्देशक जगदीश ढुङ्गानाका अनुसार, मन्त्रालयले बस अरिदका लागि अध्ययन गरी तयार पारेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गरी पुनः बोलपत्र आह्वानको तयारी गरेको हो । मन्त्रालयले तोकेको लागत अनुमानभन्दा २९.८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको थियो ।

बस खरिदका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दशैँ अगाडि नै बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको निर्देशक ढुङ्गानाले बताए । उनले पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने जानकारी दिए । १० वटा ८.५ मिटरदेखि ९.४ मिटर लम्बाइको कोच सिटी मिनी बस र २० वटा १०.५ मिटर लम्बाइको सिटी मिनी बस खरिद गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ छ ।

वातावरणमैत्री विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको ७/८ महिनामै बस आइपुग्ने उनले बताए । प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षमै विद्युतीय बस सञ्चालन गर्ने योजना नीति र कार्यक्रममै समावेश गरे पनि यातायात व्यवस्थापन बोर्ड गठन र खरिद प्रक्रियाका काममा मिलाउन नसक्दा बस खरिद र सञ्चालनमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले विद्युतीय बस संचालनको लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाएको उनले बताए । मन्त्रालय र बोर्डले संयुक्त रुपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरी बस संचालन हुने रुटमा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया सुरु गरेको उनले जानकारी दिए । उनका अनुसार बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, मकवानपुरको हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको छ ।

सरकारले प्रदेशलाई हरित प्रदेश र वातावरणमैत्री प्रदेश बनाउने योजनासहित पहिलो चरणमा धुलिखेलबाट बनेपा, काठमाडौँ, धादिङ, चितवन, हेटौँडासम्म र दोस्रो चरणमा सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लामा विद्युतीय बस संचालनको योजना बनाएको बोर्डले जनाएको छ ।